काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय कार्यदलले हत्या नियोजित भएको र त्यसमा प्रहरीको संलग्नता रहेको निष्कर्षसहित सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।

उच्चस्तरीय छानविन प्रतिवेदनमा निर्मलाका परिवारले शंका गर्दै आएका एपी विष्टका छोरा किरणको जन्मदिनलाई समेत विवादितसँगै शंकास्पद भनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

किरणले छानबिन समितिलाई दिएको बयान शंकास्पद भनिएको छ । १० साउनमा आफूले होटलमा फोटोसुट गरेको र सामान्य रूपमा जन्मदिन मनाएको उनले समितिलाई बताएका थिए ।

यद्यपि, किरणको नागरिकतामा भने २०५६ साल वैशाख १० मा जन्मदिन देखिएकाले उनको गतिविधि शंकास्पद रहेको समितिको ठहर छ ।

उनले १० गते २ बजे होटलमा साथी ऐश्वर्या, शिशिर र साथीसँग आएका अन्य केटीलाई आफूले नचिनेको बताए । त्यो दिन उनको फेसबुक आईडीमा बर्थडेको शुभकामना दिदीले बाहेक कसैले दिएको छैन भन्ने व्यहोरा समेत शंकास्पद रहेको प्रतिवेदनमा उल्लेख छ ।

छानविन समितिलाई उनले मृतक निर्मला पन्त, नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, रोशनी भनिने आँचल बम र बबिता भनिने अनिता बमलाई नचिनेको भनी, बयान दिएका थिए ।

गोली चलाउनेलाई पनि कारबाही सिफारिस

उच्चस्तरीय छानबिन समितिले आन्दोलनका क्रममा सन्नी खुनाको मृत्यु हुनेगरी गोली चलाउने प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ । गोली चलाउँदा एसपी विष्टले प्रमुख जिल्ला अधिकारीलाई सोधेका छैनन् । यो विषयको रहस्योद्घाटन पहिले नै भइसकेको छ । एसपी विष्टमाथि सन्नी खुनालाई गोली हानेकोबारे पनि छानविन हुनुपर्ने औँल्याइएको छ ।

यस्तै, छानबिन प्रभावित तुल्याउने र लापर्वाही गर्ने प्रहरी, वडा प्रहरी कार्यालयका इन्चार्ज निरीक्षकलगायतलाई पनि अनुसन्धानमा तानी बलात्कार र हत्याको रहस्य पत्ता लगाउन समितिले सुझाव दिएको छ । घटनास्थलमा रहेको गन्जी र निलो कट्टु तथा निर्मलाका कपडा पखाल्ने कामले प्रमाण नष्ट गर्न मद्दत पुगेको समितिको निष्कर्ष छ । निर्मला हत्यापछि चर्किएको आन्दोलनको दबाब थेग्न नसकेपछि गृहले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।