दमक/झापाको दमक –२ स्थित हाम्रो बाल आश्रमको अवन निर्माणमा दमकस्थित लायन्स क्लब अफ दमक इष्टर्न लायनले ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
आज आश्रम परिसरमा क्लबले विशेष कार्यक्रम गरि सो रकम बराबरको चेक आश्रम सञ्चालक समितिका अध्यक्ष प्रकाश थापासहितको समुहलाई हस्तान्तरण गरिएको हो ।
लायन्स क्लबको रिजन चेयर पर्सन प्रहर क्षेत्रीको प्रमुख आतिथ्य र क्लबका अध्यक्ष विमल शर्माको अध्यक्षतामा भएको सो सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष थापाले संस्थाको उदेश्य असहाय तथा अनाथ , अपाङग बालबालिकाहरुलाई संरक्षण गरि संस्थाकै अभिभावकत्वमा शिक्षा दिक्षा दिलाउने र पालनपोषण गर्ने रहेको बताए ।
उनले भवन निर्माण पूरा भएपछि लक्षित बालबालिकाहरु भेला गरि त्यस किसिमको सामाजिक सेवाको काममा निरन्तर लाग्ने प्रण गरेको पनि सुनाए । सो आश्रम दमकका युवाहरुको सक्रियतामा करीब ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको र यसलाई सम्पन्न गर्न थप ५ लाख रुपैयाँ आवश्यक रहेको आश्रमका परिकल्पनाकार तथा सञ्चालक तुल्सीराम तिम्सिनाले जानकारी दिए ।










