काठमाण्डु, २२ असोज – अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आफ्नो संयुक्त राष्ट्रसंघको महासभा बैठक र कोष्टारिका भ्रमणबारे जानकारी गराएका हुन् । साेमबार बिहान बसेकाे नेकपा सचिवालय बैठकमा नेताहरूले विदेश भ्रमणकाे जानकारी गराएका थिए । बैठकमा महत्वपूर्ण निर्णय नभएकाे नेताहरूले बताएका छन् ।
त्यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भारत र चीन भ्रमणबारे ‘ब्रिफिङ’ गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
श्रेष्ठ आफैंले चीन भ्रमणबारे बैठकमा रिपोर्टिङ गरेका थिए। श्रेष्ठ १५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा गएका थिए । बैठकमा माधवकुमार नेपालले अफ्रिकी मुलुक घाना भ्रमण र चीन भ्रमणबारे जानकारी गराएको श्रेष्ठले बताए ।
बैठकले अर्को बैठकका लागि एजेण्डा तय गरेको श्रेष्ठले उल्लेख गरे । ‘प्रदेश कमिटीको गठन, जिल्ला कमिटी गठन, स्थायी समितिको मिति, पार्टी र सरकार सञ्चालन प्रभावकारी बनाउने र पार्टीको निर्णयमा माग भएको छलफलका विषयमा अर्को बैठकमा छलफल हुन्छ’, श्रेष्ठले भने ।
नेकपाको अर्को सचिवालय बैठक २४ गते बस्नेछ ।










