प्रदेश ३ का अधिकांश प्रभावशाली सांसद संसद् बैठकमा अनुपस्थित रहँदै आएका छन् । प्रदेश सभा गठन भएयता ६९ वटा बैठक सञ्चालन भएका छन् । तर, अधिकांश बैठकमा प्रभावशाली नेताको उपस्थिति न्यून पाइएको छ । १८ माघ ०७४ देखि भदौ मसान्त ०७५ सम्मको तथ्यांकमा यस्तो पाइएको हो । १ सय १० सांसद रहेको प्रदेश सभामा जम्मा तीनजना मात्र सबै बैठकमा सहभागी भएको देखिन्छ । संसद् सचिवालयका अनुसार सभामुख सानुकुमार श्रेष्ठ, नेकपाका सांसदहरू गोमा भुर्तेल र मैना अछामी सबै ६९ बैठकमा सहभागी भएका छन् ।

कार्यव्यस्तताले भ्याइएन : मुख्यमन्त्री २२ वटा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल गयल देखिएका छन् । प्रदेश सभा सचिवालयको अभिलेखअनुसार मुख्यमन्त्री पौडेल जम्मा ४७ पटक मात्र बैठकमा उपस्थित भएका छन् । मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार कार्यव्यस्तताका कारण बैठकमा उपस्थिति न्यून भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बैठकमा सहभागी हुन नसक्ने अवस्थामा मुख्यमन्त्रीले प्रदेश सभा सचिवालयलाई जानकारी गराउँदै आएको दाबी गरे । उनले भने, ‘सम्भवतः मुख्यमन्त्री बाहिरी जिल्ला वा काठमाडौं भएका वेला बैठकमा उपस्थित हुन नसक्दा गयल देखिएको हो ।’

अधिकांश मन्त्रीको ताल उस्तै भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापित र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल सबैभन्दा कम उपस्थित हुने मन्त्रीमा पर्छन् । स्थापित र नेपाल जम्मा ४६ वटा बैठकमा मात्र सहभागी भएको तथ्यांक प्रदेश सभा सचिवालयसँग छ । सामाजिक विकासमन्त्री ५२ र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री ५६ वटा बैठकमा उपस्थित भएका छन् । तर, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल भने धेरैजसो बैठकमा उपस्थित देखिन्छन् । दुवै मन्त्री ६२ वटा बैठकमा उपस्थित भएको रेकर्ड सचिवालयमा छ ।

सत्तापक्षीय सांसद बढी अनुपस्थित सत्तारूढ दल नेकपाका अधिकांश सांसदले प्रदेश सभालाई कम महत्रव दिएको देखिन्छ । उनीहरूको उपस्थिति ५० प्रतिशतभन्दा न्यून छ । केन्द्रीय राजनीतिमा समेत प्रभावशाली भूमिकामा रहेकी नेकपा सांसद अष्टलक्ष्मी शाक्य जम्मा २८ पटक संसद् बैठकमा सहभागी भएकी छिन् । नेकपाकै डा. अजयक्रान्ति शाक्य त जम्मा ७ वटा बैठकमा मात्र सहभागी छन् । नेकपाकै राजेन्द्र पाण्डे २९, हरिशरण लामिछाने १७, रचना खड्का २३, दिनेश महर्जन २८ र कुसुमकुमार कार्की ३४ वटा बैठकमा मात्र सहभागी भएको रेकर्ड सचिवालयमा छ ।

प्रतिपक्षी दलको समेत बेवास्ता सत्तापक्षजस्तै अधिकांश प्रतिपक्षी दलले पनि प्रदेश सभालाई बेवास्ता गरेको देखिन्छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ जम्मा ३८ वटा बैठकमा उपस्थित भएका छन् । मकवानपुर गृहजिल्ला रहेका बानियाँले आफू पार्टीको जिल्ला सभापतिसमेत रहेको हुँदा कार्यव्यस्तताका कारण कम उपस्थित भएको दाबी गरे । नयाँ शक्तिका प्रेमबहादुर तामाङ १५ र कांग्रेसका मिलनबाबु श्रेष्ठ ३१ वटा बैठकमा मात्र उपस्थित भएका छन् ।

अनुपस्थित सांसद भन्छन्– राजधानी अपायक भयो राजधानी अपायक रहेकाले धेरै बैठकमा उपस्थित हुन नसकेको तर्क धेरैजसो सांसदको छ । अपायक जिल्लामा राजधानी रहेको तथा अधिकांश समय जिल्लामा रहनुपर्ने भएका कारण बैठकमा नियमित रूपमा सहभागी हुन नसकेको उनीहरू बताउँछन् । लगातार १० भन्दा बढी बैठकमा उपस्थित हुन नसके सभामुखको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

बैठकमा सहभागी भएबापत सांसदलाई प्रतिबैठक ७ सय ५० रुपैयाँ भत्ता दिने व्यवस्था छ । तर, बैठकबापत पाइने भत्ताले बस्न–खानसमेत नपुग्ने भएकाले पनि सांसदहरूको रुचि बैठकमा नदेखिएको एक सांसदले बताए । नयाँ पत्रीका बाट