काठमाडौं, २२ असोज । निर्मला पन्त बलात्का र हत्या घटनको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले दोषी प्रहरीलाई पक्राउ गरेर मुद्दा चलाउन सिफारिस गरेका छन् । गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा थप राय राख्दै अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीलाई मतियारका रूपमा मुद्दा चलाउन राय दिएका छन् । मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ को ख र दफा ८९ बमोजिम मुद्दा चलाउनुपर्ने राय दिएका हुन् ।
दफा ३६ को खमा कुनै कसुर गर्ने नियतले त्यस्तो कसुर वा अन्य कसुर गर्न सहयोग र्पुयाउने वा कसुर गरिसकेपछि कसुरदारलाई भगाउने, लुकाउने वा कसुर गर्न वा गराउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमले सहयोग र्पुयाउने व्यक्ति मतियार मानिने उल्लेख छ । जसमा मुख्य अभियुक्त हुने सजायको बढीमा आधासम्म सजाय हुने प्रावधान छ ।
त्यस्तै दफा ८९ मा सार्वजनिक न्यायविरुद्धको कसुरमा झुटा प्रमाण बनाउन कारबाही हुने प्रावधान छ । जसअनुसार अनुसन्धानमा आबद्ध प्रहरीले झुटा प्रमाण बनाएकाले मुद्दा चलाउनुपर्ने उनको राय छ। ज्समा ५ वर्षसम्म् कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।
अनुसन्धानमा लापरबाही गरेको आरोपमा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित, डिएसपी ज्ञानबहादुर सेटी, इन्सपेक्टरहरु जगदिश भट्ट र एकेन्द्र खड्का तथा सई रामसिंह धामी निलम्बनमा परिसकेका छन् । तल्लो तहका थप तीन प्रहरीलाई एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले निलम्बनको निर्णय गरिसकेको छ । उपसचिव केसीको रायमा अन्य अधिकारी भने सहमत थिएनन् । उनीहरुले विभागीय कारबाहीको मात्र सिफारिस गरेका छन् ।










