काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का नेता वामदेव गौतम अन्ततः काठमाडौंबाट चुनाव लड्ने भएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट उनी चुनाव लड्ने पक्का भएको छ ।
काठमाडौं– ७ मा तत्कालिन एमलोबाट रामवीर मानन्धर निर्वाचित भएका थिए । मानन्धरले राजिनामाका लागि सोमबार नेकपाको सचिवालयका निवेदन दिइसकेका छन् । सांसद मानन्धर नेकपाका अध्यक्ष केपी ओली निकट सांसद हुन् । ओलीकै आग्रहमा उनी राजिनामा दिन तयार भएका छन् । उनको राजिनामापछि उपनिर्वाचन गराई वामदेवलाई सांसद बनाउन लागिएको हो ।
नेता गौतमको सुरुमा पर्यटन राज्यमन्त्री रहेका सांसद धनबहादृुर बुढालाई राजिनामा दिन लगाएर डोल्पामा चुनाव उठ्ने योजना थियो । बुढा राजिनामा दिन तयार भए तर जनताले राजिनामा दिए वामदेवलाई भोट नदिने बताएपछि उनी पछि हटेका हुन् ।
त्यसपछि उनी बाँके–३ बाट चुनाव लड्न लागेका थिए । त्यहाँ पनि उनको योजना सफल हुन सकेन । गत वर्षको प्रतिनिधिसभाको निर्वाचनमा उनी बर्दियाबाट चुनाव हारेका थिए । अन्र्तघातका कारण हारेको बताईपनि छानबिनको क्रममा आफ्नै कारण हारेको प्रतिवेदन आएको थियो ।
अन्ततः उनी काठमाडौंबाटै चुनाव लड्न लागेका हुन् । काठमाडौं ७ बाट मानन्धर १८ हजार १०२ मतले बिजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत पाएका थिए । सो क्षेत्रमा विवेकशील साझा पार्टीकीका अनुपा श्रेष्ठ ५३७६ मत प्राप्त गरी तेस्रो स्थानमा पाएकी छन् । कांग्रेसले सो क्षेत्रमा राप्रपालाई सघाएको थियो ।










