काठमाडौं, असोज २२
तत्कालीन आइजिपी अच्युतकृष्ण खरेलसँग २० लाख घुस मागेको खुलासा भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम स्तब्ध बन्नुभएको छ ।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै गौतम स्तब्ध हुनुभएको हो । खरेलको पुस्तक सार्वजनिक भएपछि आज आफ्नै निवासमा निकट पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले खरेलले प्रकाशित गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत रु २० लाखको प्रस्ताव पठाउँदा अस्वीकार गरेको झुटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको स्पष्ट पार्नुभयो ।
उहाँले खरेलले आइजिपीबाट हटाएको बदला आफ्नो आत्मकथामार्फत चरित्र हत्या गर्दै घुसको कुरा सार्वजनिक गरेको ठोकुवा गर्नुभयो । खरेलले आत्मकथामा अधिकांश घटनाको नाम उधृत गरेपनि बामदेव गौतमको यो बिषयमा भने एक पत्रकार भनेका छन । गौतमले आफ्नो नाममा पैसा डिल गर्ने पत्रकार को हुन भन्दै सार्वजनिक गर्न चुनौतीसमेत दिनुभयो ।










