नेकपा नेता वामदेव गौतमले काठमाडौं–७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं–७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्ने भएका छन् ।
मानन्धरले राजिनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन् । उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई वुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेद्वार बनाउने नेकपाको तयारी छ ।
नेकपाको उच्चस्रोतले मानन्धरले राजीनामाका लागि बैठकमै पुगेर निवेदन दिएको पुष्टि गरे पनि उनी भने सम्पर्कमा आएनन् । पटक पटक सम्पर्क गर्दा मानन्धरको मोबाईल स्वीचअफ पाइएको छ । काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्बाचित भएका हुन् । पछिल्लो निर्बाचनमा १८ हजार १ सय २ मत प्राप्त गरी मानन्धर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत पाएका थिए ।
नेता गौतम डोल्पाबाट पर्यटन राज्यमन्त्री धनबहादृुर बुढालाई राजिनामा गराएर डोल्पामा चुनाव उठ्ने योजनामा थिए । तर जनताले दबाब दिएको भन्दै बूढाले राजीनामा दिन नमानेपछि नेकपाका महासचिव विष्णु पौडेलले बाँकेका सांसद नन्दलाल रोकायसँग राजीनामाका लागि कुराकानी गरेका थिए । तर, रोकायसँग पनि सहमति हुन सकेन ।
योबीचमा बैतडीबाट दामोदर भण्डारी, दैलेखबाट रवीन्द्र शर्मा, प्युठानबाट जनमोर्चाकी दुर्गा पौडेललाई राजीनामा गराउने प्रयास भएको थियो । तर, कतै पनि टुंगो नलागेपछि काठमाडौं–७ बाट उठाउन लागिएको हो । गत निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई पार्टीभित्रैबाट भएको अन्तरघातबाट हराइएको आशंकामा तत्कालीन एमालेले छानबिनसमेत गरेको थियो ।
नेता गौतम आफैँ पनि काठमाडौं–७ बाट उपनिर्बाचनमा उम्मेद्वार बन्न लागेको पुष्टि गरे । नयाँ पत्रिकासँग उनले भने, ‘हाम्रो पार्टीका सांसद रामवीर मानन्धरले आफ्नो सिट खाली गर्न सचिवालयमा निवेदन दिनुभएको छ, बुधबार छलफल गरेर पार्टीले औपचारिक निर्णय गर्नेछ ।’










