राजविराज– सप्तरी लगायत प्रदेश १ र २ का नेपाल विद्युत प्राधिकरणका मिटर रिडरहरु आन्दोलनमा उत्रिएका छन्। १६ वर्षदेखि निरन्तर काम गर्दा पनि आफूहरुको व्यवस्थापन नगरिएको उनीहरुको भनाइ छ।

न्यून ज्यालामा काम गरे पनि व्यवस्थापन नगरिएको र सेवा सुविधावाट समेत वन्चित गरिएकाले मिटर रिडिङको काम ठप्प पारेर आन्दोलनमा उत्रिन बाध्य भएको प्राधिकरण राजविराजस्थित वितरण केन्द्रका मिटर रिडर अध्यक्ष दुर्गानन्द यादवले बताए। कतिपय मिटर रिडरको उमेरको हदसमेत नाघेको र अहिलेसम्म त्यस्ताको ब्यवस्थापन नगरिएको उनको गुनासो छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘प्राधिकरणका विभिन्न निकायमा यसबारे आग्रहका साथ ध्यानाकर्षण गराउँदा पनि केही गरिदिएनन्,’ उनले भने, ‘बाध्य भएर मिटर रिडिङको काम रोकेका छौं।’

उनका अनुसार प्रदेश २ अन्तर्गत सप्तरीको राजविराज, सिरहाको मिर्चैया, लहान र सिरहा, धनुषाको जनकपुर र महेन्द्रनगर तथा महोत्तरीको जलेश्वर, गौशाला लगायतका वितरण केन्द्रमा मिटर रिडिङको काम असोज १६ गतेदेखि ठप्प छ।

यसैगरी प्रदेश १ मा पनि कतिपय वितरण केन्द्रको मिटर रिडिङ ठप्प रहेको संघर्ष समितिका केन्द्रीय अध्यक्ष शैलेन्द्र कमल लालले जानकारी दिए।

राजविराज वितरण केन्द्रका अध्यक्ष यादवले आफूहरुको मागका विषयमा केन्द्रमा वार्ता गर्ने भनिए पनि अहिलेसम्म कुनै निस्कर्ष नआएको बताए। ‘माग सम्वोधन नभएसम्म मिटर रिडिङ ठप्प नै रहनेछ,’ उनले भने, ‘ग्राहकलाई असुविधा त भएको छ। तर, हाम्रो पेसागत असुरक्षाका कारण आन्दोलन गर्नु बाध्यता भयो।’

ad