डोल्पा । यातायातको समस्याले दशैंमा घर जान सास्ती व्यहोर्दै आएका कर्णालीका विद्यार्थीलार्इ यसपटक भने सजिलो भएको छ ।

कर्णलीको विद्यार्थीकाे लागि यसपटक दशैमा  हवार्इ जहाजमा छुट्टै उडानको व्यवस्था गरिएको छ । सङ्घीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पहलमा छुट्टै उडानको व्यवस्था गरिएको हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राज्यमन्त्रीका स्वकीय सचिव भीमबहादुर बुढाले विद्यार्थीहरु दशैमा जसरी पनि घर पुगून भनेर छुट्टै उडानको  व्यवस्था मिलाइएको बताउनु भयो । ‘अघिल्ला वर्षमा दशैँमा घर जाने विद्यार्थीको विचल्ली हुन्थ्यो’ उहाँले भन्नुभयाे, ‘कतिपय विद्यार्थी हवाई टिकट नपाएरै दशैँमा घर जान पाउँदैनथे । तर यसपटक विद्यार्थीहरु त्यो समस्याबाट मुक्त हुँदैछन् । उनीहरुको लागि छुट्टै उडानको व्यवस्था गरिएको छ ।’

कर्णालीका विद्यार्थी अध्ययनका लागि काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत लगायतका शहरमा छन् ।  बुढाका अनुसार विद्यार्थीको लागि नेपाल एयरलाइन्सले ५ उडान भर्ने भएको छ । समिट एयरलाइन्सले ३ उडान व्यवस्था गरेको छ ।  विद्यार्थीको लागि उडान मंगलबारदेखि नै शुरु भएको बुढाले जानकारी दिनुभयो ।