विराटनगर, २३ असोज । प्रदेश १ को प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिए ।

समापन बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शेरधर राईले प्रदेश १ मा उन्नत राजनीतिक समझदारी र सुझबुझ रहेको तथा प्रदेशसभा सदस्यमा उत्तरदायी र दायित्व बढेको बताए । उनले प्रदेशको राजधानी र नामकरणका विषयमा विभिन्न सञ्चारमाध्यममा सत्यतथ्यको आधारमा समाचार नआएको गुनासो गरे । प्रदेशसभाको तेस्रो अधिवेशनको शुरुमै राजधानी र नामकरण टुङ्गो लगाउने उनको भनाइ थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको अन्य प्रदेशभन्दा सो प्रदेशमा निकै काम भएको र राजनीतिक समझदारी पनि रहेको विचार राखे । सङ्घीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य जयराज यादवले राजधानी र नामकरणको विषय सबैको सहमति र समझदारीमा घोषणा गर्न सुझाव दिए । प्रदेशसभा सदस्य इन्दिरा राईले प्रदेशलाई अब्बल बनाउन सबैको साथ सहयोगको आवश्यकता औंल्याइन् । रासस