काठमाडौँ क्षेत्र नम्बर–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले नेकपाका सचिवालय सदस्य वामदेव गौतमका लागि आफूले राजीनामा दिन लागेको बताएका छन् । उनले आफूले कसैको दबाबमा आएर नभई स्वतःस्फुर्त रुपमा सदस्य गौतमको लागि सिट खाली गर्न लागेको स्पष्ट पारेका हुन् ।
उनले आफूले पार्टीमा राजीनामा बुझाइसकेको पनि जानकारी गराए । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर मानन्धरले भने, ‘ मैले कसैको दबाबमा आएर राजीनामा दिन लागेको होइन, मैले आफैले वहाँलाई मेरो क्षेत्रबाट प्रस्ताव गरेको हुँ ।’
यसअघि गौतमलाई डोल्पा, बाँके, दैलेख लगायतका जिल्लाबाट उठाउने तयारी गरिएपनि सफल हुन सकेको थिएन । अब भने उनी काठमाडौँ–७ बाट उठ्ने पक्का भएको छ ।
सोमबार बसेको नेकपाको सचिवालय बैठकले समेत गौतमलाई काठमाडौँको क्षेत्र नम्बर ७ बाट उपनिर्वाचनबाट संसदमा भित्र्याउनेबारे छलफल भएको थियो । यसअघि गएको प्रतिनिधिसभा निर्वाचनमा गौतम बर्दिया–१ बाट काँग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए ।
मानन्धरले पार्टीलाई बुझाएको राजीनामाको बारेमा सचिवालय बैठकमा छलफल हुने र त्यहाँबाट निर्णय भएपछि सभामुखलाई औपचारिक राजीनामा बुझाउने जानकारी दिएका छन् । दैनिक नेपाल बाट










