बिष्णुप्रसाद पोखरेल
एकबर्ष अघि भएको निर्वाचनमा हार बेहोरेका बामदेब गौतम र बिश्वप्रकाश शर्माको सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । काठमण्डौ ७ बाट बामदेब गौतम निर्वाचन लडन लागेको समचार बाहिर आएसंगै सामाजिक सञ्जालमा नयाँ बहस शुरु भएको छ ।
गौतमको साँसद बन्ने चाहानालाइ धेरैले आलोचना गरेकाछन् । बिशेष गरेर बिपक्षिहरुले यसलाइ राम्रैसंग बहसमा ल्याएकाछन् । नेकपाकै नेता देखि कार्यकर्ताहरुले समेत आलोचना गर्न डराएका छैनन् ।
गौतम अब उप निर्वाचनमा साँसदका लागि लड्ने करिब पक्का भएको बताउन थालिएको छ । अब गौतमका बिरुद्ध नेपाली काँग्रेस वा अन्य दलहरुबाट को उठ्ला भनेर खुबै चर्चा चुलिएको छ ।
गौतमसंग रामचन्द्र पौड्याल भिड्न सक्ने आँकलन बाहिर आएका बेला विश्वप्रकाश शर्माको नाम पनि आउन थालेको छ । औपचारिक रुपमा नभइ सामाजिक सञ्जालहरुमा शर्माको नाम आएको हो ।
नेकपाले गौतमलाइ उम्मेदवार निश्चित बनाउने भएपनि काँग्रेस र अन्य राजनीतिक दलहरुबाट भने उम्मेदवारको बिषयमा चर्चा खासै शुरु भएको छैन । हारेकालाइ नै फेरी उठाउदा आलोचना हुन सक्ने भएकाले यस बिषयमा काँग्रेसभित्र गम्भिर छलफल हुने काँग्रेस नेताहरुले अनौपचारिक कुराकानीमा बताउन थालेकाछन् ।
को हुन बामदेब
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको जन्म २००५ साल असारमा प्यूठानको दाखाक्वाडीमा भएको हो । प्यूठानकै मुक्ति माविमा एसएलसी पास गरेका नेता गौतम एमालेका पदाधिकारी र वरिष्ठ नेताहरुमध्ये सबैभन्दा पहिले पार्टी सदस्यता लिने नेता हुनुहुन्छ । एसएलसीपछि भने नेता गौतमले पक्लीहवा कलेज भैरहवाबाट पढ्दापढ्दै छाड्नुभएको थियो । त्यसपछि उहाँले औपचारिक शिक्षा लिनुभएन । २०२१ सालमा पार्टी सदस्यता लिएर २०२६ सालमै पूर्णकालीन भएर भूमिगत भएका गौतम जेलमै रहँदा २०३२ सालमा कोअर्डिनेशन केन्द्रीय कमिटी (को.के)मा आवद्ध हुनुभयो । २०३६ सालमा जेलबाट रिहा भएपछि उहाँ नेकपा मालेको केन्द्रीय सदस्य बन्नुभयो । २०४९ सालदेखि नेकपा एमालेको स्थायी कमिटीमा रहेका गौतम ०५१ सालमा पार्टीले मनमोहन अधिकारीको नेतृत्वमा सरकार चलाउँदा उपमहासचिव बन्नुभयो । उपमहासचिव हुँदा प्रभावशाली ढंगले काम गरेका गौतम ०५३ सालमा एमाले–राप्रपाको संयुक्त संरकारमा उपप्रधान तथा गृहमन्त्री हुनुहुन्थ्यो । गृहमन्त्री भएर गौतमले पार्टीलाई स्थानीय निकायमा जिताउन सत्ता र शक्तिको प्रयोग गरेको अहिले पनि आरोप लाग्ने गरेको छ । हक्की र मनमा लागेको कुरा बोल्ने नेताको छवी बनाएका गौतमले पार्टी भित्र विवाद बढ्दै गएपछि २०५४ सालमा नेकपा एमालेबाट अलग भएर नेकपा माले गठन गर्नुभयो । पाँच वर्षपछि ०५८ सालमा गौतम फेरि नेकपा एमालेमै फर्किनुभयो र आठौं महाधिवेशनबाट पार्टी उपाध्यक्षमा निर्वाचित हुनुभयो । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको गणतन्त्र नेपालको पहिलो सरकारमा उहाँ उपप्रधान र गृहमन्त्री बन्नुभयो । तत्कालीन सेनापति प्रकरणमा पार्टीले सरकारलाई धोका दिएको भन्दै गौतमले लिखित असहमति राख्नुभएको थियो । गौतमले नेकपा माओवादीसँग रोल्पाका बिभिन्न ठाउँमा पुगेर पार्टीका तर्फबाट वार्ता गरेर शान्ति प्रक्रियाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । राम्रा संगठक मानिने गौतमलाई पञ्चायतकालमा कार्यकर्ताले भैरव, चौधरी र हलिदाई भनेर पनि चिन्ने गर्थे । ०४८ र ०५१ सालमा बर्दिया १ बाट चुनाव जितेका गौतमले ०५६ सालमा पराजित हुनुभयो । त्यस्तै २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि उहाँ बर्दियाबाट पराजित हुनुभयो । तर २०७० सालको दोस्रो संविधानसभा चुनावमा भने उहाँ प्यूठान क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । फेरी उहाँ प्रतिनिधिसभा सदस्यमा एक बर्ष अघि पराजित बन्नुभयो ।
को हुन विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा को जन्म २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा भएको हो । शर्मा २०७० सालको संविधानसभा चुनावमा झापा १ बाटै नेकपा एमालेका रविन कोइरालासँग र एक बर्ष अघि भएको संघीय निर्वाचनमा राम कार्कीसंग पराजित हुनु भएको थियो । उहाँको बुबाको नाम परशुराम भण्डारी र आमाको नाम सावित्रा शर्मा भण्डारी हो । उहाँका १ छोरा १ छोरी छन् । शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पास गर्नुभएको छ । २०४० सालमा ८ कक्षामा पढ्दा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापति भएका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा ९ महिना हिरासतमा बस्नु भएको थियो । २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका विश्वप्रकाश त्यसको १० वर्षपछि २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति हुनुभएको थियो । २०५८ सालमा पहिलो पटक नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका शर्मा २०७२ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
(शर्मा र गौतमको जीबनी उज्यालो अनलाइनमा आधारित)










