ज्ञानेन्द्र निरौला ।
मेचीनगर ।
काठमाण्ठौ क्षेत्र नं.७ मा नेकपाका नेता बामदेब गौतमसंग आफु प्रतिस्पर्धी नहुने काँग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माले स्पष्ट पार्नु भएको छ । नेकपा नेता गौतमलाई सांसद बनाउन काठमाण्डौ क्षेत्र नं. ७ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामबिर मानन्धरले आज सांसद पदबाट राजीनामा दिएका छन । २०७४ मंसीरमा भएको निर्वाचनमा बर्दियाबाट पराजित भएका नेकपा नेता गौतमलाई सांसद बनाउनकै लागि मानन्धरलाई राजिनामा गराएको नेकपाले बताईसकेको छ ।
त्यससंगै गौतमको प्रतिस्पर्धीका रुपमा प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट प्रबक्ता शर्मालाई उम्मेद्वार बनाउने चर्चा चलिरहँदा प्रबक्ता शर्माले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र १ छोडेर अन्यत्रबाट उम्मेद्वार नहुने प्रष्ट पार्नु भएको छ । रेडियो साथीसंगको टेलिफोन कुराकानीमा काँग्रेस प्रबक्ता शर्माले भन्नु भयो–“सबभन्दा पहिला बामदेब गौतमलाई किन सांसद बनाउन लागिएको हो त्यसको जवाफ नेकपाले दिन पर्छ । जहाँसम्म मेरो उम्मेद्वारीको कुरा छ त्यो सत्य होईन ।” शर्माले अगाडी भन्नु भयो–“ मेची, निन्दा र टिमाईको किनार छोडेर बागमतीमा उम्मेद्वार हुन्न । बागमतीको किनारमा गएर नमस्कार गर्न मिल्छ तर उम्मेद्वार हुन मिल्दैन ।”
पार्टी भित्र बामदेबको प्रतिस्पर्धीका रुपमा उम्मेद्वार बन्न अनौपचारिक कुरा आएको छ तर आफुले उम्मेद्वार नबन्ने पार्टीलाई जानकारी गराईसकेको नेता शर्माले रेडियो साथीलाई बताउनु भयो ।
काँग्रेस प्रबक्ता शर्माले भन्नु भयो–“गौतमको प्रतिस्पर्धी को हुन्छ भन्दा पनि काठमाण्डौ ७ को निर्वाचन केका लागि भन्ने जवाफ चाहिएको छ ।” बामदेब गौतमलाई गृहमन्त्री बनाएर शान्ति सुरक्षा मजबुत बनाउन सांसद बनाउने हो भने मुलुकको शान्ति सुरक्षा कमजोर छ भनेर सरकारले स्वीकार गर्नु प¥यो । बामदेबलाई प्रधानमन्त्री बनाउन सांसद बनाउने हो भने यसले मुलुकमा अस्थीरता ल्याउने भएकाले यस्तो काम नगर्न शर्माले नेकपालाई सुझाव दिनु भएको छ । काँग्रेस नेता शर्माका अनुसार एउटा जिल्लाबाट अनुमोदन हुन नसकेको मान्छे अर्को जिल्लामा कस्तो अनुमोदन गराउन आउने हो । शर्माले भन्नु भयो–“हामी काठमाण्ठौ ७ मा काँग्रेसलाई जिताएर देखाउँछौं ।” जनताले बामदेबलाई होईन काँग्रेसको उम्मेद्वारलाई मत हाल्ने शर्माको भनाई छ ।










