काठमाडौं, २४ असोज । चार दिनदेखि नेपाल प्रहरीको थुनामा रहेका स्वतन्त्र मधेस गठवन्धनका अध्यक्ष सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

आइतबार पक्राउ लगत्तै राउतका आफन्तले रौतहट जिल्ला अदालतमा उनको रिहाइका लागि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सो रिट खारेज गर्दै अदालतले राउतलाई थुनामा राखी अनुसन्धान गर्न चार दिनको समय दिएको थियो । यसअघि पटक–पटक पक्राउ परे पनि प्रमाण नपुगेको भन्दै अदालतले राउतलाई छाड्न आदेश दिंदै आएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस पटक भने राउत थुनामै रहेका बेला प्रमाण जुटाएर राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्न लागेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्वतन्त्र मधेसको पक्षमा राउतले भड्किला वक्तव्य दिने र गतिविधि गर्ने आरोप प्रहरीको छ । राउतले संविधान जलाउनेदेखि सैन्य दस्ता खडा गर्ने जस्ता कार्य गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले प्रमाण जुटाउने सिलसिलामा राउतका विगतदेखिका गतिविधि खोजीरहेको रौतहटका एसपी केदार ढकालले बताएका छन् । नयाँ मुलुकी ऐनमा व्यवस्था भएअनुसार राज्यविरुद्धको अपराधमा राउतलाई ५ वर्षसम्म कैद ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने छ ।

फौजदारी कसुरको दफा ४ अनुसार नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको स्वाधीनता, विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्ध खलबल गर्न खोजेमा ५ वर्षसम्म कैद ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।

यता देशमा पहिचानमा रहेका असन्तुष्ट पक्षसँग वार्ता गर्नका लागि सरकारले गठन गरेको समितिले सिके राउत राजनीतिक समूह नभएको दावी गर्दै बार्ताका लागि नबोलाइएको जनाएको छ । नयाँपेज बाट