काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीको पहिलो काम जरिबाना गर्ने नभएर सर्वसाधारणलाई ट्राफिक नियमप्रति अनुशासित गराउने रहेको बताएका छन् । यात्रु र चालकले ट्राफिक नियम उल्लंघन गरे चिट काट्नु ट्राफिक प्रहरीको कर्तव्य भए पनि उनीहरुलाई ट्राफिक नियमबारे नम्र भाषामा बुझाउनु पहिलो दायित्व भएको पनि महानिरीक्षक खनालले बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले चाडपर्वलक्षित ‘ट्राफिक र्यापिड स्कुवाड’ परिचालन विशेष कार्ययोजनाको औपचारिक सुरुआत कार्यक्रममा बुधबार बोल्दै महानिरीक्षक खनालले यस्तो बताएका हुन् ।
“ट्राफिक प्रहरीको काम चिट काट्नेमात्र होइन, सर्वसाधारणलाई ट्राफिक नियमबारे जनचेतना फैलाउनु पनि ट्राफिक प्रहरीको दायित्व हो,” महानिरीक्षक खनालले भने, “ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न आफ्नो सामथ्र्यले भ्याएजति काम गर्नुहोस्, सामथ्र्यले भ्याएसम्म काम गर्दा पनि कहिलेकाहिँ आलोचित भइन्छ, यस्तो अवस्थामा म पनि वस्तुगत ढङ्गले मूल्याङ्कन गर्छु तर नियतवश सर्वसाधारणबाट जरिवाना असुल गरी कमाउने काम प्रहरी सङ्गठनमा हुनु हुँदैन । प्रहरीको पेशा भनेको विशुद्ध सेवा हो पैसा कमाउने उद्देश्य भए विदेश जानुस्, प्रहरीको जागिर खाएर नबस्नुस् ।”
एकजना प्रहरीको नराम्रो कामले सम्पूर्ण प्रहरी सङ्गठन नै बदनाम हुने बताउँदै प्रत्येक प्रहरीले समाजमा सकारात्मक सन्देश सम्प्रेषण हुने काम गर्नुपर्ने पनि महानिरीक्षक खनालले बताए ।
प्रहरीको पोस्टिङ दिनगन्तीले नभई कामका आधारमा हुने बताउँदै आफ्नो क्षमता चिनेर काम गर्न पनि उनले निर्देशन दिए ।
ललितपुर ट्राफिक प्रहरीले सातदोबाटोमा बुधबारै उद्घाटन गरेको ट्राफिक प्रहरी भवनको प्रशंसा गर्दै महानिरीक्षक खनालले थपे, “ललितपुर ट्राफिकले स्थानीयको समेत सहयोगमा आकर्षक ट्राफिक कार्यालय सञ्चालनमा ल्याएकोमा म एकदमै खुसी छु । आकर्षक भवनका साथै ट्राफिक प्रहरीको कार्यसम्पादन पनि जनतामैत्री हुनुपर्छ । यसमा हामी सबैको सहकार्य आवश्यक छ ।”










