नेपालगञ्ज । मापदण्डविपरीत उत्पादन र बिक्रीवितरण गर्ने बाँकेका दुई पानी उद्योगलाई बन्द गरिएको छ ।

बाँके जानकी गाउँपालिका–३ करमोहनास्थित जेएमसी वाटर उद्योग र हिमालयन ड्रिङकिङ वाटर एण्ड वेभरेजको उत्पादन बन्द गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

यसैबीच गाईभैँसीको घिउमा वनस्पति घिउ मिसाएर बिक्री वितरण गर्दै आएका एक भारतीय नागरिकसहित तीन जनालाई आज यहाँ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका नेपाली नागरिक सुर्जिलाल यादव, बाबादिन आयर तथा एक जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नेपालगञ्ज–१९ सुर्जिगाउँस्थित अर्जुन यादवको घरबाट पक्राउ गरिएको होे । पक्राउ परेकाबाट प्रहरीले एक क्विन्टल ४७ किलो घिउ बरामद गरेको छ । बरामद घिउ परीक्षणका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जमा पठाइएको पनि प्रहरीले जनाएको छ ।

रासस