काठमाडौं, असोज २५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले अधिकारसम्पन्न विकास प्राधिकरण गठन गरेर त्यसको नेतृत्व आफूले गर्ने उद्देश्यले उपनिर्वाचनबाट प्रतिनिधि सभामा जान चाहेको दाबी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ७ को निर्वाचन क्षेत्र गौतमको निम्ति खाली गराइन लागेको भन्ने समाचारसँगै आलोचनात्मक टिप्पणी आइरहँदा गौतमले बीबीसीसँगको कुराकानीमा त्यस्तो योजना सुनाउनु भएको हो ।
पार्टी एकिकरणमा प्रमुख भूमिका निर्वाह गरेका नेताहरूमध्ये आफू र नारायणकाजी श्रेष्ठ मात्र संसदमा नरहँदा अन्य सभासदहरू उर्जाशील हुन नसकेको गौतमको दाबी छ।
उहाले समृद्धिको लक्ष्य लिएको सरकारलाई सफल बनाउन आफूले विकास प्राधिकरणको परिकल्पना गरेको र त्यसमा नेकपाका दुवैजना अध्यक्षहरू समेत सकारात्मक रहेको बताउनु भयो ।
‘मेरो माग प्रतिनिधि सभामा गएपछि विकास निर्माण प्राधिकरणको जिम्मेवारी दिनुस्, मैले स्रोत समेत जुटाउँछु र निर्वाचन घोषणापत्रमा भएका सबै काम गरेर देखाउँछु भन्ने छ।’
उहाले त्यस्तो प्राधिकरण अधिकारसम्पन्न हुने र त्यसले प्रधानमन्त्रीको सहयोगीको रूपमा संघीय अभ्यासमा लागेको देशको माग अनुरूप ठूला विकास निर्माणका कामहरू गर्ने बताउनु भयो ।
उहाले आफ्नो विरोध गर्ने नेताहरुमाथी पनि गम्भिर आरोप लगाउनु भएको छ । ‘उम्मेद्वारीको चर्चासँगै बर्दियामा आफूलाई हराउन लागेका पार्टीभित्रकै केही शीर्षस्थ नेताहरू पुनः सकृय भइसकेका छन् ।’ नेता गौतमको भनाई छ ।










