काठमाण्डु, २५ असोज – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफू काठमाण्डुमा उम्मेदवार नबन्ने बताएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर १ पराजित भएका शर्माले आम शुभेच्छुकसँग माफी माग्दै आफू काठमाण्डु–७ मा हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् । झापामा शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राम कार्कीसँग पराजित भएका थिए ।
बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउन काठमाण्डु क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछि वामदेवको प्रतिस्पर्धीको रुपमा विश्वप्रकाशको नाम चर्चामा आएको थियो । यसै सन्दर्भमा विश्वप्रकाशले आम शुभेच्छुकसँग माफी मागेका हुन् ।
उनले माफी माग्दै व्यक्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्नु नहुने कुरामा जोड दिएका छन्।
‘माफ गर्नुहोला मित्रहरू झापामा चुनाव हारेको विश्वप्रकाश, काठमाडौंमा उम्मेदवार बन्नुहुंदैन र बन्दैन’, विश्वप्रकाशले भनेका छन्, ‘व्क्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्न मिल्छ र ?’
सामाजिक सञ्जालमार्फत् विश्वप्रकाशले आफू काठमाण्डुमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् । उनले फेसबुकमा थप लेखेका छन्, ‘शिर निहुराएर ढोग्न मिल्छ, ढोगिन्छ बागमतीलाई तर अन्ततः म मेची, निन्दा र टिमाईको किनारकै हो ।’










