गौशाला, २५ असोज । महोत्तरी जिल्लाको औरही नगरपालिकामा बिहीबार ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल यादव र ८ वर्षीया छोरी वसन्ती यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दशैँको बेला घर लिपपोत गरेर झकीझकाउ बनाउनुपर्ने भन्दै आज बिहान १० बजेतिर गाउँमै रहेको नदीको किनारमा माटो ल्याउन गएका चारै जना बालिका माटोकै ढिस्कोमा पुरिएर घाइते भएका छन् ।

घाइतेमध्ये विनोद साहकी १० वर्षीया छोरीको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ भने अन्य तीन जना बालिकाको उपचार गाउँकै एक निजी क्लिनिकमा भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । –रासस