नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले उप निर्वाचनमार्फत प्रतिनिधिसभामा जाने योजना त्याग्न बामदेव गौतमलाई सुझाव दिनुभएको छ । काठमाडौं-७ प्रकरणले पार्टीको प्रतिष्ठामा धक्का लागेको निश्कर्ष सुनाउँदै महासचिव पौडेलले अव उपचुनाव लडनु नहुने प्रष्ट पार्नुभएको हो ।
काठमडौं ७ का सांसद रामवीर मानन्धरीले गौतमलाई ठाउँ खाली गर्न भन्दै आफूले राजीनामा दिने घोषणा गरेको तेस्रो दिन महासचिव पौडेलले अव गौतम उपचुनाव लडनै नहुने बताउनु भयो । त्यसो त महासचिव पौडेल आफै मानन्धरको राजीनामा सम्वन्धी लिखित प्रस्ताव सचिवालयमा आउँदासम्म बेखबर हुनुहुन्थ्यो । काठमाडौं सात प्रकरणले आफूहरु निकै गम्भीर बनेको संकेतपनि उहाँले गर्नुभएको छ ।
महासचिव पौडेलले बामदेव गौतम अव यस बिषयमा अगाडि बढनै नहुने बताउनु भयो ।
‘वामदेव र रामवीर प्रकरणले पार्टीलाई ‘ब्याक फायर’ भन्दा पनि परिस्थिति राम्रो देखिएन । खासमा वामदेव कमरेडले प्रतिनिधिसभामा आउन खोज्नुभएको कुरा अब लुकाइरहनु परेन । उहाँले अघिल्लो वर्षको चुनावमा बर्दियाबाट जसरी पराजय भोग्नुपर्यो, त्यो परिणामलाई शुरुदेखि नै सहज रुपमा लिनु भएको थिएन,’ अनलाइन खवरलाई दिएको अन्तरवार्तामा पौडेलले भन्नुभएको छ।
गौतमलाई संसदमा ल्याउन उपचुनाव गराउने बिषयमा पार्टीमा हालसम्म कुनै निर्णय भएको छैन । सचिवालयमा प्रस्ताव आएको जानकारी गराउने अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्डले पनि निर्णय नभएको बताइसक्नु भएको छ । वामदेवलाई काठमाडौंमा चुनाव लडाउने कुरा चाहिँ कसरी आयो त भन्ने प्रश्न जताततै उठिरहेको छ। यस बिषयमा पनि महासचिव पौडेलले पनि मुख खोल्नुभयो ।
‘चुनावमा पराजयपछि उहाँले शुरुदेखि नै प्रतिनिधिसभामा आउने इच्छा व्यक्त गर्नुभयो । उहाँले इच्छा व्यक्त गरेको अवस्थामा अनुकुल समय र उपयुक्त ठाउँमा सोच्न सकिन्छ भन्ने बुझाई पार्टीभित्र थियो । एकपटक सचिवालयको बैठकमा छलफल पनि भएको हो । खासगरि रामवीर मानन्धरको राजीनामाको प्रसंग मैले पनि पछि थाहा पाएको हुँ । यो कुरा कसरी विकास भयो र राजीनामाको चरणसम्म पुग्यो भन्ने मलाई थाहा भएन । यो पार्टीमा परामर्श गरेर आएको होइन ।’
पौडेलका अनुसार रामवीर मानन्धरले दुईजना अध्यक्षलाई सम्बोधन गरेर ‘वामदेव कमरेडलाई प्रतिनिधिसभा सदस्यमा चुनाव लडाउन म ठाउँ खाली गर्न चाहान्छु, अनुमति पाऊँ’ भनेर पत्र लेख्नुभएको छ । उहाँको पत्र सचिवालयको बैठकमा प्रस्तुत भएको हो । सचिवालयमा पत्र पढेर सुनाइएको हो, यसमा कुनै निर्णय भएको छैन । महासचिव पौडेलले गौतमलाई भेटेरै अव चुनावमा नजान सुझाएको खुलासा पनि गर्नुभयो ।
‘मैले चाहिँ शुरुदेखि नै अनुकुल परिस्थिति निर्माण भएको खण्डमा मात्र चुनावमा जानु उचित हुन्छ भनेर उहाँलाई सुझाव दिँदै आएको हुँ । अहिले मैले जे देखिरहेको छु, त्यसले राम्रो संकेत गरिराखेको छैन । खासगरि काठमाडौं-७ को प्रसंगसँग जोडिएर आएका प्रतिक्रियाहरु हेर्दा परिस्थिति अनुकल देखिँदैन । मैले वामदेव कमरेडलाई भेटेर पनि यस विषयमा कुरा गरेको छु, मैले उहाँलाई चुनावमा नजानुस् भनेर सल्लाह दिएको छु ।’
पौडेलले अव गौतमले उपनिर्वाचनमार्फत सांसद बन्ने बाटो त्याग्नुपर्ने बताउनु भयो । ‘अब चाहीँ उहाँ काठमाडौं ७ मा मात्रै होइन, यो प्रतिनिधिसभाको उपनिर्वाचनमा नै नलड्नु उचित हुन्छ भन्ने लागेको छ मलाई । यो घटनाक्रमले उहाँको प्रतिष्ठामा क्षति पुर्याएको छ । पार्टीको प्रतिष्ठालाई पनि क्षति पुर्याएको छ । मैले चाहिँ उहाँलाई काठमाडौं ७ मा नजानुस् भनिसकेको छु’ पौडेलले भन्नुभयो ।










