मनकामना केबलकारका संचालक राजेशबाबु श्रेष्ठलाई धम्काएर असुली गर्ने समुहलाई पक्राउ गर्ने नेपाल प्रहरीका असई कमल बस्याल यस वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ता बनेका छन्।
नेपाल प्रहरीले ६३ औँ प्रहरी दिवसमा उनलाई सर्वाेत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गरेको छ।
पोखराका प्रदेश सभा सदस्य बिन्दुकुमार थापा, घरजग्गा व्यवसायी कालु गुरुङ र बोधराज गिरिलाई २५ पुस २०७४ मा मनोज पुनको नाममा धम्काएर असुलीको प्रयास भएको थियो। पोखरा प्रहरीले मौखिक उजुरीका आधारमा घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको थियो। असई बस्यालले जिल्ला प्रहरी कार्यालय पोखराको टोलीलाई आरोपी पक्राउ गर्न सहयोग गरेका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार असई बस्यालले एक वर्षमा २५ घटनाको सफल अनुसन्धान गरेका छन्। प्रदेश प्रहरी कार्यालयको सादा पोशाकको टोलीका सदस्यका रुपमा रहने बस्यालले इन्टरपोलको खोजीमा रहेका कोरियाली नागरिकलाईपनि पक्राउ गरेका थिए।
कोरियाली नागरिक सिउङ वुन लीलाई बस्यालले २ फागुन २०७४ मा पक्राउ गरेका थिए। यस्तै बुटवल मणिग्रामका मार्वल व्यवसायी दुर्गालाल भण्डारीलाई गोली प्रहार गर्ने समूहका सदस्यलाई पक्राउ गर्ने कार्यमा पनि बस्यालले सफलता प्राप्त गरे।
प्रहरी प्रधान कार्यालयका अनुसार बस्याल प्राविधिक अनुसन्धान र फिल्ड अनुसन्धान दुबैमा अब्बल अधिकारी हुन्। उनले ५० करोड रुपैयाँ ठगी प्रकरणका मुख्य अभियुक्त देवकुमारी भुजेल र उनका श्रीमानलाई पक्राउ गरेका थिए। यो दम्पती स्थानीय ५० भन्दा बढी ब्यक्तिबाट रकम उठाएर फरार रहेको थियो। तर बस्यालको टोलीले उनीहरुलाई काठमाडौँबाट पक्राउ गर्न सफल भयो।
यसैगरी अनुसन्धान खातामा सातवटा चोरीका बुलेट, केटिएम डुक र क्रसफायर मोटरसाईकल बरामद गरेका थिए। हातहतियार खरखजाना मुद्दामा फरार रहेका विशाल तामाङ भन्ने आईतसिंह भोलनलाई पनि उनैले पक्राउ गरे।
पोखरा लेखनाथ महानगरपालिक सराङकोटस्थित निर्माणधिन ‘सराङकोट माउन्टेन्ट रिसोर्ट एण्ड स्पा’ भवनमा १६ पुष २०७४ मा भएको ‘डबल मर्डर केश’ का अभियुक्त पक्राउ गर्न पनि बस्यालले सफलता प्राप्त गरे। निर्माणाधिन भवनको भुईतलाको कोठामा सँगै काम गर्ने भोजपुरका निमा शेर्पा र आङलापा शेर्पाको हत्यामा संलग्न सागर भन्ने पूर्णबहादुर लिम्बु पक्राउ परेका थिए। घटनामा आङदावा शेर्पा गंभीर घाईते भएका थिए।
पोखरालाई केन्द्र बनाएर सक्रिय रहेका सट्टेबाज पक्राउ गर्ने कार्यमा प्रहरीले १२ असार ०७५ मा सफलता प्राप्त गरेको थियो। विश्वकप फुटबलका लागि सट्टेबाजी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्यका रुपमा सक्रिय समूह लेकसाईड क्षेत्रबाट पक्राउ परेको थियो।
बस्याल संलग्न टोली नै थियो, जसले सन्देश गरुङ, आइरिस पवका बाउन्सर निरन्जन गुरुङ, अनिश गुरुङ र अबिनाश गुरुङजस्ता सट्टेबाजलाई पक्राउ गरे।
सर्वोत्कृष्ट उद्दारकर्ता प्रहरी जवान रामबिनय यादव र सुरेश थामीले यस वर्षको सर्वोत्कृष्ट उद्दारकर्ताको पुरस्कार पाएका छन्। दुबैले २१ असारमा मोरङको केराबारीमा रहेको खदम खोलामा बगेका ६ वर्षीय अनसल दुलालको ज्यानको परवाह नगरी उद्दार गरेका थिए।
स्थानीय अमृत दुलालका छोरा अनसललाई खोलाले बगाउँदै ल्याइरहेको देखेपछि इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएका यादव र थामीले खोलामा हामफालेर बालकलाई बचाएका थिए।
खण्डलुकलाई योगेन्द्र स्मृति पुरस्कार साहसिक तथा जोखिमपूर्ण कार्यवापत वर्षेनी दिइने योगेन्द्र स्मृति पुरस्कार यसवर्ष डेविड फल्सबाट खसेका ईन्द्रबहादुर केसीको जीवित उद्दार गर्ने प्रहरी जवान गणकुमार खण्डलुकले पाएका छन्। सशस्त्र प्रहरी गण मुख्यालय पोखरामा कार्यरत खण्डलुकले डेविड फल्सको खोँचमा फसेका केसीको उद्दार गरेका थिए।
यस्तै खण्डलुकले ७ बैशाखमा फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुबोध साहको शव फेला पारेका थिए। उनले थप दुई बेपत्ता ब्यक्तिको शब फेला पारेका थिए।
र, शान्ति पुरस्कार कार्कीलाई नेपाल प्रहरीको प्रदेश तालिम केन्द्र स्थापनाका लागि १२ अर्ब रुपैयाँ बराबरको जग्गा प्राप्तिमा महत्वपूर्ण योगदान दिने डिएसपी कृष्णबहादुर कार्कीले पूर्ण शान्ति पुरस्कार पाएका छन्।
कार्कीले पोखरा महानगरपालिका-१५ मा रहेको ७ सय ६९ रोपनी जग्गा भूमाफियाबाट लडेर नेपाल सरकारको नाममा दर्ता गराउन सफलता पाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल खबर बाट साभार









