बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक र आसपासको क्षेत्रमा बालबालिकाहरुमा भाइरलको प्रकोप देखिन थालेको छ । बिरामी भएर बालबालिकाहरुको उपचारका लागि अभिभावक अस्पताल तथा क्लिनिकहरुमा आउने क्रम तिब्र रुपमा बढेको पाईएको छ ।
लाइफलाइन अस्पतालका बाल रोग बिशेषज्ञ डा. रजनिश मिश्रका अनुसार भाइरलको संक्रमण भएका बालबालिकाहरु अधिकतम रुपमा उपचारका लागि आउने गरेकाछन् । उनिहरुलाइ आवश्यक उपचारसंगै परामर्श समेत दिइने गरेको मिश्रले बताए ।
लाइफलाइन अस्पतालमा पनि धेरैको संख्यामा भाइरलको संक्रमणमा परेका बालबालिकाहरु उपचारका लागि आइरहेको मिश्रको भनाइ छ । मिश्र पछिल्लो समयमा दमकमा बालबालिकाको लागि राम्रो डाक्टर मानिन्छन् ।
बद्लिदोे मौसम, वायु प्रदुषण तथा दुषित पानीका कारण बालबालिकामा भाइरलको संक्रमण ज्यादा हुन्छ । यो हावाबाट सर्ने रोग हो । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा बढी रहन्छ । हाछ्युँ गर्दा, नजिकै बस्दा, ज्वरो आएको व्यक्तिले प्रयोग गरेको रुमाल अर्को व्यक्तिले प्रयोग गर्दा यो रोग एकआपसमा सजिलै सर्छ ।
यसबाट ग्रसित बालबालिकामा आँखा रातो हुने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, नाक बन्द हुने, टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखा पर्छन् । यसले बालबालिकामा वान्ता गराउने, खान मन नलाग्ने, पेट दुख्ने लगायतका समस्या उत्पन्न गराउँछ ।
चिकित्सकका अनुसार प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा यसका कारण जाइडिया, टाइफाइड, निमोनिया, जन्डिसलगायतका अन्य समस्या देखिन थालेको छ ।
बालबालिकामा हातखुट्टा तथा मुखमा घाउखटिराको संक्रमण समेत बढि नै रहदै आएको स्वास्थ्यकर्मीहरुले बताएकाछन् । यसलाइ ‘ह्यान्ड फुट एण्ड माउथ डिजिज’को रुपमा हेरिन्छ । यसले मुख वरिपरि, हत्केला, खुट्टा तथा पैतालामा रातो स–साना फोका तथा र्यास देखिने गरेको छ।










