उर्लाबारी । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। बेलवारी नगरपालिका-४स्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को१२प ९६८२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बेलवारी-११ का ४० वर्षीय मनकुमार राई र पछाडि सवार सोही ठाउँका ४५ वर्षीय वर्णकुमार राईको मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्रकको ठक्करबाट गम्भीर घाइते दुई जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ। यस्तै जिल्लाकै कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

ना५ख २१४१ नं को बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा घाइते भएका कानेपोखरी गाउँपालिका-७ का ५० वर्षीय विष्णु भेटवालको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा गए राति मृत्यु भएको हो।