काठमाडौं, असोज २७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साँगठानिक एकता दसैंपछि धकेलिएको छ । आज बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ मा बस्ने गरी सारिएपछि नेकपाको साँगठानिक एकता दसैंपछि धकेलिएको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले आवश्यक गृहकार्य नपुगेको भन्दै कात्तिक ४ गतेसम्म बैठक सार्नुभएको एक नेताले बताए । अध्यक्षद्वयले आज बस्ने भनिएको सचिवालय बैठक कात्ति ४ गते बस्नेगरी सार्ने निर्णय गर्नुभएको हो । यसअघि असोज २१ गते सचिवालयको बैठक बसेको थियो । त्यस्तै स्थायी कमिटीको बैठक कात्तिको १२ र १३ गते बस्ने नेकपाले जनाएको छ ।
सचिवालय बैठकले स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्नेछ । गत भदौं ५ गतेभित्र सवै तहको साँगठानिक एकता सकाउने घोषणा गरेपनि नेताहरुबीच बिवाद हुँदा अहिलेसम्म जनसंगठन, प्रदेश, जिल्ला र स्थानीय कमिटीहरु एकीकृत हुन सकेका छैनन ।
गत असोज ५ गते प्रदेशका पदाधिकारी तय भएपनि कुनैपनि कमिटी एकीकृत हुन नसक्दा सवै जनसंगठनहरु पुर्णत निष्कृय बनेका छन । लामो समयसम्म साँगठानिक एकता नहुँदा जनसंगठन, प्रदेश र जिल्ला कमिटीहरु निस्कृय बनेका छन भने ती संगठनका नेता कार्यकर्तामा निरासा छाएको छ ।










