बेनी : म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर मृत्यु भएका नौ जनाको शव भेटिएको छ । आवश्यक औजार र सामग्रीसहित हेलीकोप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले आइतबार बिहान पहाडको खोँचबाट नौ जनाको शव निकालेर आधार शिविरमा राखेको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए ।

‘बेसक्याम्पमा संकलन भएको शवलाई गुर्जामा ल्याएर पहिचान गरी हेलीकोप्टरबाट म्याग्दीका एक जनाको बेनी र अन्य आठ शव काठमाडौ पठाउने तयारी भएको छ’ प्रनाउ बुढाले भने । वेपत्ताको खोजीमा गएका गुर्जाका बासिन्दा र सिम्रिक एयरका पाइलटले शनिबार खोँचमा शवहरु देखेपनि भौगोलिक बिकटता र औजार, उपकरणको अभावमा संकलन हुन सकेको थिएन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिमआँधीमा परेर दक्षिण कोरयाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको छ ।

मृत्यु हुने नेपालीमा संखुवासभा भोटखोला गाउँपालिकाका छिरिङ भोटे, देना आङजुक भोटे, फुर्बु भोटे र म्याग्दीको धौलागिरि गाउँपालिकाका नेत्रबहादुर छन्त्यालको पनि मृत्यु भएको छ। हिम आँधीमा परी ज्यान गुमाउने कोरियन आरोहीहरू लिडर किम चाङ हो, लि जाइहुङ, रिम इल जीन, यु युङजिक, जेओङ जो मो रहेका छन् ।

ट्रेकिङ क्याम्पस् नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरु असोज २४ गते रातिको हिमआँधीमा परेका थिए। पदयात्रामा आएका दक्षिण कोरियाका हङ जियोन चोस र गाइड लाक्पा शेर्पा भने गुर्जामै सुरक्षित छन् । चोस बिरामी भएपछि लाक्पा र उनी गुर्जामै बसेका थिए ।

चोससंगै पदयात्रामा आएका जोन मो जोइङलाई लिएर गएका गुर्जाका नेत्रबहादुर छन्त्यालले २४ गते आधार शिविरबाट सम्र्पक गरेका थिए । आधार शिविर पुगेको टोली सम्र्पक बिहीन भएपछि शुक्रबार गुर्जाका बासिन्दाहरु आधार शिविरतर्फ गएका थिए । स्थानीयबासीको टोली आधार शिविर पुगेर शुक्रबार राति फर्किएपछि शनिबार बिहान मात्रै दुर्घटनाका बारेमा जानकारी भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

जिल्ला सदरमुकाम बेनीदेखि करीब चार घण्टा गाडी, आठ घण्टा पैदल हिडेपछि र गुर्जा गाउँ पुगिन्छ । त्यहाबाट थप पाँच घण्टा हिडेपछि आधार शिविर पुग्न सकिन्छ । पर्यटन विभागबाट ६० दिनको अनुमति लिएर उनीहरु गुर्जा हिमालको पहिलो पटक आरोहण गर्न आधार शिविर पुगेका थिए ।