(पार्थ मण्डल) भद्रपुर । लेखापढी व्यवसायी आन्दोलित बनेपछि जिल्ला मालपोत कार्यालय झापाको दैनिकी कामकाजमा प्रभावित बनेको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरमा आवद्ध २६५ व्यवसायीले अनिश्चितकाली कलम बन्द गरेपछि सेवाग्राही समस्या पर्नुका साथै झापा मालपोतको राजश्व संकलनमा समेत प्रभाव परेको छ ।

भूमि व्यवस्था तथा गरिबी मन्त्रालयले असोज २३ गतेदेखि लेखापढी व्यवसायीहरुको सबै हकअधिकारहरुलाई कटौती गर्दै व्यवसायीलाई विस्थापित गर्ने कानुन ल्याएपछि उनीहरु आन्दोलित बनेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२३ प्रकारका विभिन्न खाले अर्धन्यायिक निकायमा पेस हुने लिखतका ढाँचाहरु विद्यमान मुलुकी संहिता ऐन २०७४ को दफा ४१, ४२ र ४३ को व्यवस्था भूमि मन्त्रालयले लागु गरेको ऐनसंग बाझिएको हुदाँ उक्त ऐन तत्काल सुधारको माग राख्दै लेखापढी व्यवसायी आन्दोलित बनेको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरका सचिव महेन्द्र खतिवडाले बताए ।

उनका अनुसार नेपाली कागजमा लिखत पास भइरहेको अवस्थामा हाल मालपोतबाटै फोटोकपी कागजमा लिखत पास हुन थालेको छ । यसरी पास भएको लिखत बढी समय टिकाउ नहुने र यसले जनताको धनजनको क्षति पुग्ने कानुन ल्याएको तत्काल ऐन संसोधन हुनुपर्ने उनले बताए ।

लेखापढीको माग सम्बोधन नभएपछि अनिश्चिकालीन कलम बन्द राख्ने उनको भनाई छ । मन्त्रालयले ऐन जारी गरेपछि लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समितिले असोज २६ गते विभिन्न सात बुँदे माग राख्दै भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरमा ज्ञापनपत्र बुझाउँदै हातमा कालो पट्टि बाधेर काम गरेका थिए । ज्ञापनपत्र बुझाएपनि माग सम्बोधन नहुने भएपछि दवाव स्वरुप दोस्रो चरणको आन्दोलनको कार्यक्रममा उत्रिएको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य रमेश पोखरेलले बताए ।

‘अदालतबाट लाइसेन्स लिएर लेखापढी व्यवयासीले काम गर्दै आइरहेको छ, लेखापढी व्यवासयी दिनानाथ उप्रेतीले भने, ‘अहिले मन्त्रालयले जारी गरेको कानुनले हाम्रो हकअधिकारलाई कुण्ठित पार्दै व्यवयासीलाई हटाउन खोजिएको छ, मुलुकी संहिता ऐनसंग जुधने कानुन तत्काल सरकारले संसोधन गरिनुपर्छ ।’ यता लेखापढी व्यवयासी आन्दोलनमा उत्रिएपछि सेवाग्राहीले आफैले कागजातसहितको लिखत भर्दा समस्या हुने गरेको छ । टाढा टाढाबाट आएका सेवाग्राहीको जग्गा सम्बन्धी काम लेखापढी व्यवयासीले गर्न नमानेपछि उनीहरु आफै लिखत भर्दा गल्ती हुने गरेको सेवाग्राही शिला हजामले बताइन् ।

भूमि सुधार तथा मालपोत कार्यालय झापाका प्रमुख रोशनशंकर घिमिरेले लेखापढी व्यवयासी आन्दोलित बनेपनि कार्यालयमा आउने सेवाग्राहीलाई कर्मचारीले नै सहयोग गरी फराम लगायतका कागजात भर्ने लगाएर सेवा दिर्दै आइरहेको बताए । अन्य दिनको तुलनामा केही राजश्व संकलनमा कमि आएको उनको भनाई छ ।