भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा माता दुर्गा भवानीको विशेष पूजा अर्चनाका गर्दै धुमधामका साथ फुलपाती भित्राइएको छ । नेपालीहरुको महान चाड बडादशै सुरुसँगै आज महासप्तमीको दिन पारेर प्रत्येक बर्ष झै यस बर्षपनि भद्रपुरमा फु्लपाती धुमधामका साथ भित्राइएको हो । भद्रपुर नगरपालिका ६ स्थित सार्वजनिक दुर्गा मन्दिर समितिले मन्दिरमा परिसरमा आयोजना गरेको कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले माता दुर्गा भवानीको पूजा आर्चना गरेका थिए । सोही अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुंयक्त रुपमा दुर्गा मातालाई चार पटक सलामी अर्पण गरेका थिए ।
मन्दिरमा पूजाआर्चना पश्चात जिल्लास्तरीय प्रहरी, प्रशासन प्रमुख, सरकारी कार्यालयका प्रमुख, नागरिकसमाज, बालबालिका, आयोजक समिति, लगायतको सहभागितामा बाजाकाजा सहित निकालिएको ¥याली भद्रपुर बजार परिक्रममा गर्दै भद्रपुर भन्सार कार्यालयमा पुगेर फुलपाती भित्राइएको थियो । धार्मिक परम्परा अनुसार भन्सारमा परिसरमा विशेष पूजामा सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले पुनः पुजापाठ, जमरा, होम, बलि तथा बडाइ दिएका थिए भने नेपाली सेना बन्दुक पडकाएर सलामी दिएका थिए ।
कार्यक्रममा मन्दिर समितिका सचिव राजेन्द्र चापाँगाई, प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी बल नेपाल, झापा गण नम्बर २ का एसपी रेशमकुमार थाक्सु लगायात उद्योगी, व्यापारी, नगरबासी, पत्रकारको उपस्थिती रहेको थियो ।










