सांसद एवं अनेरास्ववियूकी अध्यक्ष नविना लामाको बिहेपछिको यो पहिलो दसैं हो। नयाँ घर, नयाँ माइती भएका कारण दसैंमा विशेष रमाइलो भइरहेको नविना बताउँछिन्। उनको माइतीमा दसैंंमा सेतो टीका लगाउने चलन छ। तर, घरमा भने सेतो टीका लगाउने चलन छैन। विवाह भएको पहिलो दसैं माइतीमा टीका पुर्याउने चलन छैन। तर, नेवार समुदायमा फूलपाती लिएर आफन्तकहाँ जानुपर्ने चलन छ। केही नौलो अनुभव बटुल्ने विश्वास छ नविनालाई।
संगठनभित्रको विवादले यसपालिको दसैं नविनाका लागि तनावमुक्त भने छैन। संगठनभित्र धेरै किचलो भएको नविना स्वीकार गर्छिन्। तर, राजनीतिको आन्तरिक विवादले पारिवारिक जमघट र रमाइलोमा असर नपुगेको नविनाको दाबी छ।
अखिलले प्रहरी संगठनमा घट्दो जनविश्वास, संगठन सुधार, दसैंंमा महँगी नियन्त्रण, गरिबले पनि सहजै दसैंं मनाउनसक्ने वातावरणको निर्माणलगायत विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो। ‘कम्युनिस्ट सरकारले राम्रो काम गर्नुपर्यो भन्ने सकारात्मक सोचका साथ गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थियौं। त्यही बहानामा संगठनभित्र अहिले किचलो बढ्दो छ,’ उनले भनिन्।
गाउँघरमा विगतजस्तै सामान्यसँग दसैं मनाउने योजनामा छिन् नविना। ‘घरपरिवारसँगै छु । आफन्त र मान्यजनको हातबाट टीका लगाउने, रमाइलो गर्दै आफन्तहरुकै माझमा दसैं मनाउँछु,’ नविना भन्छिन्।










