रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा दिनमा दुई घण्टा मात्र मदिरा बिक्रि गर्न पाईने भएको छ । नगर कार्यपालिका बैठकको निर्णय अनुसार मदिरा बेचबिखनको लाइसेन्स भएका ब्यापारीले मात्र दिनमा दुई घण्टा मदिरा बेचबिखन गर्न पाउने भएका हुन् ।

अव नगरपालिकाको अनुमति प्राप्त व्यापारीहरुले दैनिक साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र मदिरा बेचबिखन गर्न पाउने छन् । निर्णय कार्यान्वयनको लागि नगरपालिकाले इलाका प्रहरी कार्यालय र मातहतका निकायहरुसँग समन्वय गरेर सार्वजनिक सुचना प्रकाशन, अन्तरक्रिया, जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै साँझ ५ बजेदेखि ७ बजेसम्म बाहेक अरु समयमा मदिरा जन्य वस्तु बिक्री वितरण नगर्न व्यापारीलाई अनुरोध समेत गरिएको छ । नगर प्रमुख बिशाल शर्माका अनुसार नगर भित्र ब्यवस्थित मदिरा बेचबिखन गरि मदिराजन्य वस्तुबाट हुने अपराधिक क्रियाकलाप अन्त्य गर्न यस्तो गरिएको हो।

‘यसबाट मदिरा बेचबिखन गर्ने सिस्टम र पद्धतिको विकास हुन्छ उनले भने–दर्ता नगरी मदिरा बिक्री गर्नेलाई कानुनको दायरामा ल्याउन यस निर्णयले सहयोग गर्नेछ ।’ नगर प्रमुख शर्माले निर्णय विपरित जानेलाई कानुनी कारबाहि गरिने बताए । पहिलो चरणमा सम्झाई बुझाई गर्ने र त्यसपछि पनि अटेरी गर्नेलाई कारवाहि गरिने उनको भनाई छ ।

प्रहरीको सक्रियता

इलाका प्रहरी कार्यालय चौरजहारीका इन्चार्ज प्रकाश चन्द गुप्ताले नगरपालिकाको निर्णय अनुसार काम गरिरहेको बताए । नगरपालिकाको निर्णय नगरका व्यापारीहरुलाई सुनाउने र यसबारेमा सचेत गराउने काम भैरहेको उनले बताए । नगरपालिकाको यस्तो निर्णय पछि यसपटकको दसैं, तिहार छट जस्ता चाडमा हुने सम्भावित अपराधिक क्रियाकलपामा कमी आउने विश्वास गरिएको छ ।