अब २५ वर्ष उमेर ननाघेका मगर युवालाई मदिरा पिउन प्रतिबन्ध लगाइएको छ । नेपाल मगर संघले जिल्ला÷जिल्लामा रहेको समितिलाई उक्त अभियानलाई सफल बनाउन अनुरोधसमेत गरेको छ।
युवा जनशक्ति रक्सी र चुरोटलगायतका कुलतमा लाग्ने क्रम धेरै देखिएकाले भोलि देशमा नेतृत्व गर्ने जनशक्ति अभाव हुन सक्ने भन्दै गोरखामा भएको नवौं केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
‘सिक्ने, शिक्षा लिने, युवाको जोस जाँगरको उमेरमा अहिले युवाले चुरोट, रक्सी खाएर बिताउने क्रम बढेको छ, यसलाई निरुत्साहित गर्नुपर्ने निष्कर्षसहित मगर संघको नवौं बैठकले २५ वर्षभित्रका मगर युवालाई मदिरा बन्देज लगाएको हो’, अध्यक्ष नवीन रोका मगरले भने, ‘जातले पाएको भनेर सानैदेखि रक्सी खानुपर्ने, खुवाउने चलन छ, यसलाई पनि हामी निरुत्साहित गर्ने अभियान चलाउँछौं ।’
गोरखा नगरपालिका ५ पस्लाङ होम स्टे र मगर संघ गोरखाको सभाहलमा शुक्रबारदेखि दुई दिनसम्म केन्द्रीय समितिको बैठक चलेको थियो ।
मगर संघले कुनै एउटा नेता, दलविरुद्ध नभई मगरको अधिकार र नेपाल बनाउने अभियानमा राज्यसत्ता विरुद्ध आन्दोलन गर्ने उनले बताए । मगरको भाषा संस्कृति, धर्म, अधिकारका लागि लड्ने निर्णय बैठकले गरेको छ ।
संविधान संशोधन गरेर त्यहाँ सबै जातिको अधिकार र समान अवसर कायम हुनेखालका विषय थप्नुपर्नेमा छलफल भएको मगर संघ गोरखाका अध्यक्ष विष्णु राना मगरले बताए । मगर भाषालाई राष्ट्रिय भाषासरह मान्यता दिनुपर्नेमा पनि बैठकमा छलफल भएको उनले बताए।
नागरिक न्युजमा खबर छ ।










