प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट बृद्धभत्ता बढाउने घोषणा गर्नुभएको छ । उहाले विगतको सरकारले ढुकुटी रित्याएर गएकाले यसपटक बढाउन नसकिएको जनाउदै उहाले आर्थिक वर्ष २०७६\७७ को बजेटबाट बृद्धभत्ता बढाउने घोषणा गर्नुभएको हो ।

बडादसैं, तिहार, छठ, नेपाल सम्बत (११३९) लगायत चाडवाडका अवसर पारेर गृहजिल्ला झापाको वितामोर्डमा आयोजना गर्नुभएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै उहाले जनताको विश्वासलाई तलमाथी हुन नदिने समेत स्पष्ट पार्नुभयो । ‘देशको अर्थतन्त्र यति भयावह ढंगले बिगारिएको, डावाडोल पारिएको र चल्न नसक्ने अवस्थामा रहेछ,’ प्रधानमन्त्री ओलीले अगाडी भन्नुभयो,‘जेष्ठ नागरिकलाई बढाएर भत्ता दिने योजना थियो, तर ढुकुटी हे¥यो, रित्तै छाडिएको रहेछ त्यसैले अहिलेबाटै बढाएर दिन सकिएन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता कार्यकर्ताको ठुलो जमघट रहेको चियापानमा सम्वोधन गर्दै उहाले भन्नुभयो,‘अर्थतन्त्र खुट्टा टेक्न सक्ने बनाएर आउदो बजेटबाट वृद्धभत्ता बढाउछौं ।’ प्रधानमन्त्री ओलीले यो सरकारलाई असफल बनाउन केही शक्ति लागिरहेको समेत बताउनु भयो । उहाले बन्दकोठामा दुई चार जना बसेर षडयन्त्र गरिरहेपनि यो सरकार असफल नहुने समेत स्पष्ट पार्नुभयो । ‘यो सरकार असफल हुनै हुन्न, असफल भयो भने देश असफल हुन्छ, हामी किमार्थ यस्तो हुन दिन्नौं,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

उहाले आफुमाथी जनताले ठुलो विश्वास र अपेक्षा राखेकाले त्यसलाई तलमाथी हुन नदिने बताउदै समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पुरा गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले केही वर्षभित्र देखिने र महसुस हुने गरी देशको विकास हुने बताउनु भयो । ‘यो सरकार सफल भए आफु असफल हुन्छु भन्ने ठानेर एकथरी मानिस सरकारलाई बदनाम गर्न, काम गर्न नदिने लागेका छन्’, उहाले अगाडी भन्नुभयो,‘तर तिनीहरुको सपना कहिले पुरा हुने छैन, हामी विकास र समृद्धिको बाटोतर्फ अघि बढेका छौं, अब यो रोकिन्न ।’