प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नु भएको छ ।

वडादशैँ २०७५ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको चाहनालाई सरकारले सर्वोपरी महत्व दिएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अघि बढाउन जनताले दिएको अवसरलाई गुम्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ‘देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको छ,’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमा तीव्र गतिका साथ अग्रसर गराउन जनताले अभिभारा हामीले शिरोपर गरेका छौं । यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिइदैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्ने आफ्नो चाहना रहेको उल्लेख गर्नुभएको छ । देशमा काम गर्न सक्ने उमेर समुहको जनसंख्याको बाहुल्यता नै देशको समृद्धिको एउटा प्रमुख आधार भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । नेपालीहरु रोजगारीका लागि विदेशी भूमिको समृद्धिका लागि अहोरात्र खट्नु पर्ने अवश्थाको अन्त्य गर्दै स्वदेश मै आकर्षक रोजगारीको व्यवस्था गरेर देशलाई समृद्ध बनाउन सरकार प्रयत्नशिल रहेको प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

शुभकामनाको पूर्णपाठ

२०७५ सालको वडादशैँको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

लामो राजनीतिक संघर्षको युग पार गरेर हाम्रो देशले विकास र समृद्धिको युगमा प्रवेश गरेको छ । यसबीच जननिर्वाचित संविधानसभाबाट संविधान जारी भइ सकेपछि तीन वटै तहका निर्वाचनहरु सम्पन्न भइसकेका छन् । संविधानले व्यवस्था गरेअनुसारका स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिमूलक संस्थाहरु कृयाशील भइसकेका छन् । देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक–आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको छ ।

वर्तमान सरकार राजनीतिक स्थिरतासँगै देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल ध्येयलाई साकार तुल्याउन कृयाशील छ । देशलाई आर्थिक–सामाजिक रुपान्तरणको बाटोमा तीव्र गतिका साथ अग्रसर गराउन हामीलाई जनताले दिएको अभिभारा हामीले शीरोपर गरेका छौं । यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनु हुँदैन् भन्ने कुरामा हामी हरेक क्षण सजग हुँदै आएका छौं । हामी आमजनताको विश्वास र अपेक्षालाई शीरोपर गर्दै समृध्द नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहन्छौ ।

हाम्रो देशमा रहेको काम गर्न सक्ने उमेर समूहको वाहुल्यत अथार्त युवा जनसंख्याको प्रधानता समृद्धिको एउटा प्रमुख आधार हो । तर यो उमेर समुहको जनसंख्या रोजगारको खोजीमा विदेशीभूमिको समृद्धिका लागि अहरोत्र खटिरहेको छ । सरकार यो अवस्थाको अन्त्य गरेर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न प्रयत्नशील छ ।

अहिले सानातिना बिषयहरु उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन । राष्ट्र निर्माणको यो ऐतिहासिक अवसरमा हामी सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य छन् । त्यस कारण सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन म सबैलाइ फेरि एक पटक आह्वान गर्दछु ।

हामी सबैले जनताको समृध्दि र सुखलाई सर्वोपरि महत्व प्रदान गर्नै पर्दछ । साथै, आर्थिक रुपमा सम्पन्न भएर मात्र मानिस सुखी हुन सक्दैन भन्ने पनि मनन गर्नु पर्दछ । सामाजिक सुरक्षाका दृष्टिले समेत हरेक व्यक्ति सुखी भएको खण्डमा मात्र हाम्रो लक्ष्य पूरा हुन सक्दछ ।

दशैंको यस अवसरमा आमनेपाली जनतालाई समृद्धि र सुख हासिल गराउने प्रतिवद्धताबाट कुनै पनि क्षण विचलित नहुने प्रतिवध्दता व्यक्त गर्दै सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

केपी ओली २ कात्तिक, २०७५