राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिशिष्ट ब्यक्तित्व तथा सर्वसाधरणलाई टीका लगाइ दिनु भएको छ । राष्ट्रपति भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीसहित बिशिष्ट ब्यक्तित्व र सर्वसाधरणलाई टिका लगाइ दिनुभएको हो ।
राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको थियो । स्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गर्नुभएको थियो ।
शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो । राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गर्नुभयो ।
त्यसअघि राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा गर्नुभएको थियो । राष्ट्रपति भवनको प्रेक्षालयमा टीका मङ्गलटीकाको कार्यक्रम भइरहँदा नेपाली सेनाको एक टोलीले मन्द तर मधुर ध्वनिमा मङ्गलधुन बजाइएको थियो । राष्ट्रपतिले आफ्ना पूजनीय माता मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गर्नुभयो । साथै उहाँले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारीले पारिवारिक टीकापछि प्रधानमन्त्री ओलीलाई टीका लगाउनु भएको हो ।
राष्ट्रपतिले प्रधानमन्त्री ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडालगायतका बिशिष्ट ब्यक्तिहरुले टीका लगाउनु भएको हो । राष्ट्रपतिबाट टीका ग्हणका लागि साँझसम्म पनि शीतलनिवासमा भिड लागेको थियो । जनता टाइम्स बाट










