मोरङको पथरी शनिश्चरे नगरपालिका-८ शुक्रबारेका १८ वर्षीय कृष्णबहादुर विष्टले दसैंको टीकाकै दिन राति छिमेकीको हत्या गरेका छन । विष्टले खुकुरी प्रहार गरेर स्थानीय २८ वर्षीय विजय खड्काको शुक्रबार राति ९ बजे हत्या गरेका हुन ।
पुरानो झगडालाई लिएर खुकुरी प्रहार गर्दा विजयको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट खडकाको टाउको, अनुहार, घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो।
प्रहरीका अनुसार विष्ट र खड्का परिवारबीच पुरानो झगडा थियो। त्यही ठाउँमा १६ वर्षअघि होली खेल्ने क्रममा एक व्यक्तिको हत्या भएको थियो। त्यही घटनामा चलाइएको कर्तव्य ज्यान मुद्दामा अदालतले कृष्णबहादुरका बुबा अर्जुनकुमारलाई जेल सजाय सुनाएको थियो। जेल सजाय भुक्तान गर्ने क्रममा अर्जुनकुमारको सात वर्षअघि मोरङ कारागारमै मृत्यु भएको थियो।
प्रहरीका अनुसार हत्या गरिएको घटनामा आफ्नो बुबाको संलग्नता नरहे पनि खड्का परिवारले फसाएर जेल पुर्याउने काम गरेको र त्यही मृत्यु भएको भन्दै कृष्णबहादुर विजयप्रति आक्रोसित थिए । त्यही पुरानो घटनालाई लिएर विष्ट र खड्का परिवारबीच राम्रो सम्बन्ध थिएन। प्रहरी निरीक्षक बजगाईंका अनुसार पुरानो घटनाका बारेमा कृष्णबहादुरलाई उनकी हजुरआमाले सुनाएको खुलेको छ।
हजुरआमाको पनि केही समय अघि मृत्यु भइसकेको छ। ‘संलग्न नै नभएको हत्याको घटनामा फसाएर मेरो बुबालाई जेल पठाउने काम भएको थाहा पाएँ। जेलबाट बुबा जीवित फर्किएर आउनु भएन,’ कृष्णबहादुरलाई उद्धृत गर्दै बजगाईले भन्नुभयो, ‘खड्का परिवारले मेरा बुबालाई फसाएको कुरा हजुरआमाबाट थाहा पाएको थिएँ। त्यही बद्लामा विजयको हत्या गरेको हुँ।’
घटनामा संलग्न कृष्णबहादुरलाई तत्कालै घटनास्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पोष्टमार्टम गरेर विजयको शव भने आफन्तलाई बुझाइएको छ। प्रहरीका अनुसार कृष्णबहादुर खडकाको हत्या गर्न उपयुक्त मौका कुरेर बसेको पाइएको छ । जनता टाइम्स बाट साभार










