काठमाडौं, कार्तिक ४ । विजयादशमीको बिदा सकिएपछि सरकारी कार्यालयहरू आजबाट खुल्ने भएका छन् ।
सरकारले द्वादशीको बिदा कटौती गरेपछि फूलपातीदेखि बन्द कार्यालयहरू आजबाट खुल्ने भएका हुन् ।
यसका साथै आज टीकाको तेस्रो दिन पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिने क्रम जारी छ ।
विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिने गर्दछन् ।
कतिपयकोमा भने विजयादशमीको दिन घरमा र त्यसपछि कोजाग्रत पूर्णिमाको दिनसम्म आफन्तकोमा गएर टिका लगाउने चलन रहेको छ ।
घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आफूभन्दा अग्रजको हातबाट थापेर आर्शिवाद लिइने परम्परा छ ।
यसका साथै टीका थाप्न उपत्यका बाहिर जानेहरू समेत राजधानी भित्रिन थालेकाले राजधानी आउने सवारी साधनहरूमा यात्रीहरू घुइंचो छ साथै यहाँका सडक बजारहरूमा क्रमशः चहलपहल बढ्दै गइरहेको छ ।
दशैँको समय लगभग २४ लाख मानिस उपत्यकाबाट बाहिरिएको अनुमान रहेको छ ।










