उर्लाबारी । समाचारको खोजीमा हुने मोरङ राजघाटका पत्रकार तेजन खड्काले समाचार लेखेकै भरमा धेरै विरामीका लागि हालसम्म करोड बढि उपचार खर्च जुटेको छ । उपचार खर्च मात्र हैन, समाजको बिकासका लागि आर्थिक स्रोत र सहयोगी हात पनि जुटाउँदै आउनु भएका खड्का अनलाइन समाचारको प्रभावले सामाजिक विकास सम्भव देख्नुहुन्छ । आफैंले कखरा सिकेको उर्लाबारी –९ को प्रभात आधारभुत विद्यालयमा खड्काले झण्डै ३ लाख बराबरको भौतिक निर्माणमा सहयोग पु¥याउनु भएको छ । विद्यालयको समस्या समाचारका माध्यमबाट उठान गरेपछि अहिले प्रभात स्कुल साञ्ची कै पूर्वाधार सम्पन्न भएको छ ।
समाचार प्रकाशित भएपछि सोही गाउँका सुन्दर श्रेष्ठले विद्यालयलाई मञ्च बनाइ दिनु भयो । रंगरोगन लगाइदिनुभयो । वृक्षारोपण गरिदिनुभयो । गाउँका समस्या टपक्क टिपेर समाचार बनाउने कौशल छ उहाँमा । खासगरी मानवीय सम्वेदनामा आधारित समाचारहरू अनलाइमिडिया मार्फत पस्कने खड्का समाचारकै कारण सहयोग जुटेको दाबी गर्नुहुन्छ । खुट्टाको मासु कुहिएर झर्न थालेपछि ओछ्यानमा थलिएका मोरङ साविक राजघाट—७ का देवान तामाङको पीडा अनलाइन पत्रिकाहरू प्रकाशित गरिदिएपछि हङकङमा रहेका राजघाटवाशीबाट ५० हजार रुपैयाँ उपचार खर्च जुटाइदिनु भएको हो ।
यति मात्र होइन ,पत्रकार खड्काले राजघाट –९ की मुनाकुमारी धिमालको दुबै मिर्गौला फेल भएको बेला पनि ११ लाख रुपैयाँ जुटाउन सहयोग गर्नुभयो । तर मुनालाई बचाउन नसकेकोमा उहालाई दुख लागेको छ । भन्नुहुन्छ–हामी समाचारका माध्यमबाट समस्या उठान गरिदिने मात्र हौं । अनलाइन मिडिया सुरु भएपछि तेजनको पत्रकारिता ब्यावसायिक बन्दै गएको छ । खड्काले राजघाटकी ११वर्षिया एलिसा धिमाल क्यान्सरबाट पिडित भएको बेला पनि सहयोगको याचना सम्वन्धी समाचार लेख्नुभयो ।
बाबुले आफैंले कुदाउने गरेको रिक्सा बेचेर उपचार गरिरहेको समाचार छापिएपछि एलिसाको उपचार सहयोग गर्नेको बाढी नै लाग्यो । विदेशबाट मात्र हैन् । स्वदेशमा पनि थुप्रै सहयोगी हातहरू जुटे । ७ लाख रुपैयाँ जम्मा भएको थियो । जसमध्ये ३ लाख रुपैयाँ उपचारमा खर्च भयो । तर ,एलिसाको पनि प्राण पखेरु जोगिएन । संकलन भएको मध्ये केही पैसाले एलिसाका बुवालाई सिटी सफारी किनीदिएको र बाँकी पैसाले एलिसा फाउण्डेसन गठन गरिएको खड्काको भनाई छ ।खड्काले ओछ्यानमा थलिएका राजघाट कै मोतीप्रसाद खतिवडा उपचार नपाएर छटपटाइरहेको समाचार लेख्नुभयो ।
कमजोर आर्थिक अवस्थाका मात्रै होइन ,कान समेत नसुन्ने खतिवडाको समस्यालाई खड्काले गज्जवले उठाउनु भयो । समाचार आए लगत्तै ,राम्रै सहयोग जुट्यो । आफन्त नातेदार समेत उपचार र अस्पतालको बारेमा कम जानकार भएपछि खड्का आफैंले खतिवडालाई उपचारका लागि चितवनको क्यान्सर अस्पताल लग्नु भयो । तर खतिवडाको रोग छिप्पिसकेकोले उपचार हुन सकेन ।
उपचार खर्च जुटाउने मात्र होइन, मोरङको इटहरा –१ सोमवारेमा फेला परेकी ८४ वर्षीया वृद्धालाई समेत खड्काले विराटनगर स्थित वृद्धाश्रममा थन्क्याउने काम गर्नुभयो । जहिल्यै चौरस्तामा बसेर मागी खाने ब्राम्हण समूदायकी वृद्धाको विजोग भन्ने शीर्षकमा समाचार लेखेपछि वृद्धाश्रमले पुर्नस्थापनाका लागि ल्याईदिन अनुरोध ग¥यो । खड्काले आफैं भ्यानमा राखेर वृद्धालाई विराटनगर वृद्धाश्रम लगिदिनु भएको थियो । पत्रकारिताका माध्यमबाट समाज रुपान्तरण गर्ने अभियानमा लाग्नु भएका २३ वर्षीय खड्का कुनै पत्रिकाको वेतनभोगी पत्रकार होइनन् । कान्तिपुर साप्ताहिक लगायत केही अनलाइन पत्रिकामा समाचार लेख्ने खड्का उर्लाबारी पेज नामको अनलाइन सञ्चालन गर्नुहुन्छ ।
पत्रकारिता कमाउन भन्दा पनि सामाजिक प्रतिष्ठाको लागि गरिरहेको बताउने खड्का भन्नुहुन्छ–आफ्नो गोजीमा चिया खाने पैसा हुँदैन,फोनमा ब्यालेन्स हुँदैन । तर समाजले पत्याइ सकेकोले आफ्नो समस्या लुकाउँदै समाजको समस्या बोकेर हिडिरहेको खड्काको भनाई छ ।
भन्नुहुन्छ– आमाले एकल महिलाको भत्ता थापेको पैसा मागेर धेरै सामाजिक काम गर्न हिडेको छु । आमा मालती खड्का भन्नुहुन्छ–पैसा सबै कुरा होइन् ।खान लगाउन उसलाई दुख छैन् । नाम र सामाजिक प्रतिष्ठा कमायो र उसको बुवाको नाम राख्यो भने पुग्यो । खुसी प्रकट गर्दै आमा मालती खड्काले भन्नुभयो ।










