नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पार्टीभित्रैबाट आफ्नो उम्मेदवारीका विषयमा आफुमाथी आक्रमण भएको बताएका छन् । विभिन्न क्षेत्रबाट उपनिर्वाचन गरी प्रतिनिधिसभामा सदस्य बन्न खोजेका गौतमको सो कार्यको पार्टीभित्रै र बाहिरबाट असन्तुष्ट व्यक्त भएपछि आइतवारको पार्टी सचिवालय बैठकमा उहाले सो भनाई राख्नु भएको हो ।

सचिवालय बैठकले काठमाडौं क्षेत्र नम्वर ७ का प्रतिनिधिसभा सदस्य रामविर मानन्धरको राजिनामा अस्विकृत गर्दै उपनिर्वाचनको औचित्य समाप्त गरेपछि गौतमले सचिवालय बैठकमा आफ्नो भनाई राख्नु भएको थियो । नेता गौतमले संस्थागत विधि–प्रक्रियाअनुसार नै मानन्धरको राजीनामा र आफ्नो उम्मेदवारीको विषयले बैठकमा प्रवेश पाए पनि पार्टी सचिवालयकै केही नेताको गैरजिम्मेवार प्रस्तुतिका कारण परिस्थिति अनुकूल बन्न नसकेको धारणा राख्नु भएको हो। आफू र पार्टीले संस्थागत धारणा नबनाउँदै सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नेताहरूबाटै कुप्रचार गरिएको भन्दै उहाले यसले पार्टीको प्रतिष्ठा गिराएको र प्रतिक्रियावादीहरूलाई फाइदा पु¥याउने काम गरेको धारणा राख्नु भएको स्रोतले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘वामदेव कमरेडको उम्मेदवारी तयारी र उपचुनावको चर्चाका सन्दर्भमा पार्टीभित्र उत्पन्न असमझदारीबारे खुलस्त छलफल भयो, उहाँले धेरै लामो पृष्ठभूमिसहित तीता–मीठा सबै कुरा राख्नुभो,’ एक सचिवालय सदस्यले भने । ‘पार्टी केन्द्रदेखि टोलसम्म एकता गराउनमा मेरो पनि महत्वपूर्ण भूमिका छ। एकतालाई पूर्णता दिन पनि सचिवालय नेतृत्वबीच एकता अपरिहार्य छ ।’बैठकमा नेता गौतमले भन्नुभयो, ‘यस्तो अवस्थामा काठमाडौं क्षेत्र ७ का सांसद मानन्धरको राजीनामा अस्वीकृत गर्ने निर्णयमा मेरो सहमति छ। पार्टीभित्रै मानन्धरको राजीनामालाई मेरो सत्तामोह भएको आरोप लगाउँदै मविरुद्ध भएका टिकाटिप्पणीप्रति असहमति जनाउँछु।’

गौतमको भनाइ पूरा हुँदा नहुँदै प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो समय आपसमा शंका उपशंका गर्ने नभएको बताउनु भयो। उहाले केन्द्रबाट प्रारम्भ पार्टी एकीकरणलाई गाउँपालिकाका वडासम्मै पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । उहाले पार्टी भित्रको एकतामा असन्तुष्ट देशी र विदेशी शक्तिको डिजाइनमा नपर्न नेतृत्वसँग सांकेतिक रूपमा आग्रह गर्नुभएको थियो । नेकपाको सचिवालयको बैठक आज पुन बस्दैछ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टि, सरकार र पार्टी नेतृत्वको समीक्षा जस्ता जटिल विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

जनता टाइम्स बाट साभार