कान्ति न्यौपाने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपालले पेश गर्नुभएको असहमति पत्रले ठूलै तरङ्ग ल्याएको छ । सोमबारको सचिवालय बैठकमा नेता नेपालको असहमति पत्रप्रति गम्भीर बहस भएको छ ।
नेता नेपालको असहमतिपछि पार्टी विधिसम्मत ढंगले चल्न बाध्य भएको छ । सोमबारको सचिवालय बैठकले पार्टी विधिसम्वत ढंगले चलाउने निर्णय गरेको छ ।
बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । डा.गोविन्द केसीको बिषयलाई लिएर प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण सोधेपछि नेता श्रेष्ठले दुई महिनाअघि प्रव्क्ताबाट राजीना दिनुभएको थियो ।
त्यस्तै वरिष्ठ नेता नेपालले आफू विदेशमा भएको बेला प्रदेश नेतृत्व चयन गरिएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै महासचिव विष्णु पौडेलमार्फत असोज १३ गते लिखित रुपमै असहमति पत्र पेश गर्नुभएको थियो । असहमति पत्रमा पार्टी विधिसम्मत ढंगले नचलेको समेत उल्लेख छ ।
नेता नेपालको असहमतिपत्रप्रति प्रवक्ता श्रेष्ठले समेत समर्थन जनाउनु भएको थियो । नेता नेपालको असहमतिपत्रप्रति सचिवालय बैठकमा छलफल गर्ने भनिएता पनि हुन सकेको थिएन । असहमतिपत्रकै कारण सचिवालय बैठक दुई पटक तोकिएर पनि स्थगित गरिएको थियो । लामो समयपछि सोमबार बल्ल त्यसबारे छलफल भएको हो ।
प्रवक्ता श्रेष्ठले बैठकमा वरिष्ठ नेता नेपालकाे पत्रबारे गम्भीर रुपमा छलफल भएको बताउनु भयो । ‘उहाँको असहमतिपत्रलाई पार्टीले गम्भीर रुपमा लिएको छ, आज त्यसबारे पनि छलफल भयो’ बैठकपछि उहाँले सञ्चारकर्मी भन्नुभयो, ‘पार्टीलाई विधिसम्म्त ढंगले संचालन गर्ने निर्णय समेत भएको छ ।’
सोमबारको बैठक नेता नेपालको असहमति पत्रमै केन्द्रित भएपछि प्रदेश नेतृत्व विवाद सुझाउन र जिल्ला कमिटी तथा वर्गीय संगठन एकीकरणको बिषयले भने खास्सै प्राथकिता पाएन । त्यसबारे अर्को बैठकमा छलफल हुने भएको छ । सचिवालयको अर्को बैठक कार्तिक ७ गते दिउँसो ३ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो । जनता समाचार बाट साभार










