काठमाडौं, ६ कात्तिक । सशस्त्र प्रहरी बलका एक एसएसपीले संगठनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदबाटै राजीनामा दिएका छन् ।
सशस्त्र प्रहरीका एसएसपी संजय राणाले आज पदबाट राजीनामा दिएका हुन् । विपत व्यवस्थापनको जिम्मेवारीमा रहेका राणाले कात्तिक ५ गते सशस्त्र प्रहरी मुख्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् ।
आफूहरुलाई बढुवामा पछि पार्ने गरी सशस्त्र प्रहरी नियमावली परिवर्तन गरिएको र पटक–पटक ध्यानाकर्षण गराउदाँ पनि सुनुवाइ नभएपछि राजीनामा दिन बाध्य भएको उनले बताएका छन् । ‘जहाँ न्याय हुन्न् अन्याय मात्र हुन्छ, त्यस्तो ठाउँमा किन बस्ने ?’ राणाले भने, ‘त्यही भएर राजीनामा दिएँ ।’
नेपाली सेना प्रवेश गरेका राणा पछि २०५८ सालमा सशस्त्र प्रहरी वल स्थापना भएपछि सेनाबाट सशस्त्र प्रहरी वलमा स्थानान्तरण भएका थिए ।
‘गृह मन्त्रालय र संगठनको नेतृत्वले आफू अनुकूल नियम ल्याउँदा वृत्ति विकासमा निकै असर परेको र आफ्नो कामको मूल्याङ्कन नहुने छाँट देखिएपछि राजीनामा दिएको हुँ’, उनले भने ।
सशस्त्र प्रहरी वलको पुरानो नियमावलीमा सेनाबाट आएकाहरुको हकमा आर्टीनरी अथवा बस्तोबस्तीका तालिमहरुमध्ये एक वटा गरे स्नातक तहको मान्यता दिइन्थ्यो ।
तर कोषराज वन्त आइजिपीहुदाँ सो ऐन परिमार्जन भयो । सशस्त्र प्रही वल नियमावली २०७२ मा तालिमको खारेज भयो । प्रहरी निरीक्षक र सो भन्दा माथिका पदहरु बढुवा हुन लागि तालिम खारेज गरेर शैक्षिक योग्यता स्नातक हुनुपर्ने नयाँ प्रावधान खडा भयो ।
नयाँ प्रावधान नयाँ आएपछि दर्जनौ प्रहरी अधिकारीको बढुवा रोकिएको थियो । सोही मारमा राणा पनि परे । स्नातक नहुदाँ डिआइजी दिवाकर केसी एआइजी हुन नपाइ अवकाशमा गएका थिए । नया पेज बाट साभार










