काठमाडौं, ६ कात्तिक । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई फेरि एकपटक आफूले बोलेका कारण चर्चामा छन् ।

उनले हालै दिएको एक अन्तर्वार्तामा दुई तिहाइ प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारबाट विकास हुने कल्पना पनि नगर्न आग्रह गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विगतमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग निकट मानिएका र दुवै नेतालाई आफ्नो घरमा लगेर चरेशको थालमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईको उनीहरूसँग मोहभंग हुन थालेको छ ।

खासगरी झापामा प्रसाईले सञ्चालन गरेको बी एन्ड सी मेडिकल कलेजलाई एमबीबीएस कोटा उपलब्ध गराउने र मेडिकल काउन्सिलमा सम्बन्धन पाइने आशमा उनी ओली र प्रचण्डसँग नजिक रहेका थिए ।

ओली र प्रचण्ड दुवैले निर्वाचनका बेला झापामा आयोजित चुनावी सभामा बी एन्ड सी मेडिकल कलेजलाई नयाँ सरकार बन्नेवित्तिकै सम्बन्धन दिने घोषणा गरेका थिए । चार सयभन्दा बढी शै्या भएको सो मेडिकल कलेजले अहिलेसम्म मेडिकल काउन्सिलबाट सम्बन्धन नपाएपछि दुर्गा प्रसाईले ओली र प्रचण्डविरुद्ध अभिव्यक्ति दिन थालेका हुन् ।

उनले ६५ वर्षपछि मुलुकले दुई तिहाइको सरकार पाए पनि आफूलाई यो सरकारले काम र विकास गर्छ भन्न लाज लाग्न थालेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले हात उठाएर ‘अब तपाईहरूको सपना साकार हुन्छन्, हिजो जस्तो लाग्थ्यो, एक वर्ष भइसकेछ, तर किन काम गर्न नसकेको हो ?’ त्यसमा आफू छक्क परेको उल्लेख गरेका छन् । प्रसाईले यो सरकारलाई कुन तत्वले चलाएको हो भन्दै अब निकास र विकास हुन्छ भनेर आफू जत्तिको मान्छेले नसोचे हुन्छ भनेर भन्दा केही फरक नपर्ने जनाएका छन् ।

तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङको जागिर दुर्गा प्रसाईको भनाइको लहलहैमा लागेर गएको थियो । प्रसाईले बंगलादेशमा पढ्न जाने नेपाली छात्राले त्यहाँका मेडिकल कलेज सञ्चालक र चिकित्सकलाई शरीर उपलब्ध गराउनुपर्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि उनी निकै विवादमा आएका हुन् ।

हिजोसम्म कम्युनिस्ट सरकार आए देशले काँचुली फेर्छ भनेर उफ्रने प्रसाई अहिले ओली र प्रचण्डबाट देशले निकास र विकास दुवै पाउन सक्दैन भन्ने निष्कर्षमा पुग्नुलाई आश्चर्यका रूपमा लिइएको छ । मिडिया एनपी बाट साभार