एक स्थानीय शिक्षकलाई बेपत्ता पारेको अभियोगमा वडाध्यक्षसहित ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिका–२को पेल्मा आधारभूत विद्यालयका शिक्षक ५१ वर्षीय मखनकुमार केसीलाई बेपत्ता बनाएको अभियोगमा वडाध्यक्ष सतसिङ बुढासहित ५ जनालाई रुकुमकोट जिल्ला अदालतले कारागार चलान गर्न निर्देशन दिएको हो । शिक्षक केसी सिस्ने गाउँपालिका–६ का हुन् ।
जिल्ला न्यायधिश दुर्गाबहादुर भुषालको इजलासले वडाध्यक्ष बुढासहित सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी, सोही ठाउँका रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका–१०का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरिएको अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
शुक्रबार बेलुकी ८ बजेसम्म भएको बयान र बहसपछि भएको आदेश अनुसार ५ जनालाई कारागार चलान गरिएको पाण्डेले बताए । अदालतले शुक्रबार निरन्तर सुनुवाइपछि शुक्रबार नै फैसला गरेको थियो । उनीहरुलाई शुक्रबार नै रुकुम पश्चिमका कारागार पठाइएको छ ।
शिक्षक केसी भदौ दोस्रो हप्तादेखि परिवार तथा आफन्त कसैको सम्पर्कमा छैनन् । गत साउन ३१ गते पुथाउत्तरगंगा गाउँपालिका–१०का विकास बुढा, धर्मसुर बुढा र पेल्माकै रामराज झाँक्रीलगायतले शिक्षक केसीमाथि कुटपिट गरेका थिए । साउन ३१ गते कुटपिटपछि भाद्र १ गते स्थानीय मेडिकलमा उपचार गराएका केसी त्यसपछि केही दिन विद्यालय गएर पढाएको बताइएको छ ।
स्थानीय गाउँलेले भदौ १४ देखि शिक्षक सम्पर्कमा नरहेको बताएका छन् । भदौ १७ गते मात्रै परिवारले शिक्षक हराएको खबर पाएका थिए । उक्त खबर पाए लगत्तै उनका आफन्तको २ वटा टोली खोजीका लागि २ पटक पेल्मा पुगेपनि केही पत्ता लगाउन सकेको छैन ।
भाइ बेपत्ता भएको लामो समयसम्म केही पत्ता नलागेपछि मात्रै अदालतमा किटानी जाहेरी दिएको मखनका दाइ मोहनकुमारले बताएका छन् ।
‘लामो समयदेखि सोही ठाउँमा अध्ययापन गर्दै आएको एउटा शिक्षक कता गयो भन्ने कुरा सरोकारवालालाई थाहा भएर पनि थाहा नपाए जस्तै गरिएपछि किटानी जाहेरी दिइएको हो,’ उनले भने, ‘हामीलाई कि सास कि लास चाहियो यसरी लामो समयदेखि बेखबर राख्नुको अर्थ के ?’ उनले स्थानीय सरकारको मिलेमतोमा घटना छिपाइएको आरोप लगाए । नया पेज बाट साभार










