काठमाडौं- काठमाडौंका सडक ज्यानमारा बन्दै गएका छन्। अव्यवस्थित सडक निर्माणका कारण ठाउँठाउँमा खुला ढल राख्दा त्यसले जोखिम मात्रै निम्त्याएको छैन। आज बिहान एक जनाको ज्यानसमेत लिएको छ।

काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खस्दा निस्सासिएर एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'बिहानै अँध्यारोमा साइकल लिएर हिँड्दा उनी खाल्डोमा खसेको हुनुपर्छ,' प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्षक बलराम झाले भने।

साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको उनको भनाइ छ।

उक्त स्थानमा महिनौंदेखि ढलको छोप्ने भाग खुला रहँदै आएको थियो। 'मेरो बच्चा लगायत सयौं विद्यार्थी दिनहुँ स्कुल जाने-आउने गर्छन्। त्यहाँ कुनै किसिमको छेकबार छैन,' अधिवक्ता सुनिलरञ्जन सिंहले भने, 'त्यही खाल्टोमा एक जना साइकल यात्री खसेर ज्यान गुमाउनुपरेको छ। यो सरकारले यस्तो पासो थापेर अझै कति नेपालीलाई मार्ने हो?'