काठमाडौं । सहचालकले चलाएको ट्रकले किचेर काठमाडौंको तारकेश्वर नगरपालिका–५ बोहोराटारमा ज्यान गुमाएका मृतकका आफन्त र ट्रक धनीबीच शनिबार प्रहरी प्रभाग बालाजुमा सहमति भएको छ । शुक्रबार बिहान १० बजेको घटनापछि आन्दोलित भएका मृतकका आफन्त एवं स्थानीयवासी र नवलपरासीको नवलपुर देवचुली–१६ का ट्रकधनी मनिराम महतोबीच दिनभर भएको वार्तापछि मृतकका परिवारलाई प्रतिव्यक्ति १२ लाख रुपैयाँ राहत दिने सहमति भएको हो ।

दुई पक्षबीच भएको सहमतिअनुसार अब मृतकका परिवारले प्रतिव्यक्ति २५ हजार रुपैयाँ र मेडिकल खर्च पनि पाउनेछन् । मृतकका आफन्तसँग भएको वार्तामा ट्रकधनी महतोले दुई वर्षअघि आफूले १० लाख रुपैयाँमा मासिक ८५ हजार रुपैयाँ किस्ता बुझाएर ट्रक खरिद गरेको बताएका थिए । अहिले आफूलाई यातायात व्यवसायी समितिबाट पनि कुनै सहयोग नहुने भन्दै उनले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेकाले यसभन्दा बढी राहत दिन नसक्ने बताएका थिए । सो सहमतिपछि मृतकका आफन्तले अब पोस्टमार्टमपछि शव बुझ्ने प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लोलाङ माइक्रोपार्कनजिकैको मेट्रो ट्रेडर्समा सिमेन्ट झारेर फर्कने क्रममा ना६ख ७८२६ नम्बरको १२ पांग्रे ट्रकले सडकपेटीबाट पैदल हिँडिरहेका तीन जनालाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको थियो । गोर्खा भीमसेन गाउँपालिका स्थायी घर भई हाल काठमाडांैको तारकेश्वर नगरपालिका–५ बोहोराटार बस्दै आएकी ७० वर्षीया तिलकुमारी तिवारीको घटनास्थलमै मृत्यु भएको थियो । ट्रकले उनको टाउकोदेखि छातीसम्म किचेको थियो ।

त्यस्तै, चार वर्षीय उनका नाति आशिष तिवारीको काठमाडांैको धापासीस्थित ग्रिनसिटी अस्पताल पु¥याउनेक्रममा मृत्यु भएको थियो । यसैगरी, काठमाडांैको तारकेश्वर–४ लोलाङ बोहोराटार बस्ने नुवाकोट सिउडिनीकी ६० वर्षीया सावित्री पुडासैनीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरी प्रभाग बालाजुका प्रहरी निरीक्षक जीवन निरौलाले दिनभर प्रहरी चौकीअघि प्रदर्शनमा उत्रिएका स्थानीयवासी र सवारीधनीबीच शनिबार साँझ सहमति भएको जानकारी दिए । ट्रक चलाउने सहचालक पैदलयात्रीलाई ठक्कर दिएपछि भागेका थिए । सो ट्रकका सहचालक र धनीलाई आफूहरूले शुक्रबार नै नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रियामा ल्याएको प्रहरीले जनाएको छ । सो घटनापछि बोहोराटार क्षेत्र शुक्रबार मध्यराति १२ बजेसम्म तनावग्रस्त बनेको थियो । राति १२ बजे प्रहरीले आन्दोलित भीडलाई तितरबितर बनाएर एक मृतकको शव र ट्रकलाई बालाजुतर्फ ल्याएको थियो । प्रहरीले ट्रक चलाउने व्यक्तिलाई अहिलेको सवारी नियमानुसार कारबाही हुने दाबी गरेको छ । नजान्ने व्यक्तिले चलाएको ट्रकका कारण तीन जना पैदलयात्रीको ज्यान गएकाले त्यहाँका स्थानीय आक्रोशित भएपछि स्थिति तनावपूर्ण बनेको थियो । राजधानी दैनिक बाट