सुरुङ्गा - छाती र पेट छुट्याउने डायफ्राम नै च्यातिएर कलेजो फोक्सोसँग टाँसिएको अवस्थामा अस्पताल भर्ना भएकी एक बिरामीको झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले सफल उपचार गरेको छ ।

पाँचथरको भारपामा भएको सवारी दुर्घटनामा परी गत असोज १४ गते अस्पताल भर्ना भएकी भारपा–७ पाँचथर निवासी ४९ वर्षीया टेकरानी आङ्वोको अस्पतालले सफल उपचार गरेको अस्पतालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छातीको करङ नै भाँचिएर डायफ्राम नै च्यातिदै कलेजो फोक्सोसँग टाँसिदा उपचार गर्न अत्यन्तै जटिल हुन्छ अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उपचारमा सम्लग्न चिकित्सक डा वासुदेव बाँस्कोटाले भने, “यस्तो अवस्था र उपचार अत्यन्तै दुर्लभ हुने गरेको छ ।” आङ्बोलाई उपचारका लागि अस्पताल ल्याई पु¥याउँदा अवस्था ज्यादै जटिल थियो उनले भने, “सायद उहाँको उपचार अन्य अस्पतालमा उपकरणकै अभावले पनि सम्भव थिएन ।”

चार जना विशेषज्ञ चिकित्सकको टिमले तीन घण्टा लामो शल्यक्रियापछि आङ्बोको च्यातिएको डायफ्राम र कलेजो तथा फोक्सोलाई ठीक ठाउँमा राखिएको अर्का चिकित्सक सन्देश दाहालले बताए । उनले भने, “नेपालमा यस्तो अवस्थाको उपचार कति भए कुनै सरकारी तथ्याङ्क छैन तर जर्मनीमा रहेको एक सरकारी अस्पतालमा भने आठ वर्षमा १४ वटा मात्रै शल्यक्रिया भएको तथ्याङ्क छ ।”

रासस