काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली विरामी भएपछि स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

पटक–पटक बोलाउँदै स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक कात्तिक १३ र १४ गतेका लागि बोलाइएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै बस्नुपर्ने भएकाले नेकपा स्थायी बैठक स्थगित भएको हो । नेकपा महासचिव विष्णु पौडेलले एक विज्ञप्ति जारी गरी बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

नेकपाका दुई शीर्ष नेता प्रवक्त नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल चीन भ्रमणमा छन् । श्रेष्ठ सोमबार फर्किने कार्यतालिका थियो । पोखरेल भने बुधबार मात्र फर्किंदै छन् ।

नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले भने पार्टीको स्थायी समिति बैठक तत्काल बोलाउन माग गर्दै आएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएर बालुवाटारमा आराम गरेर बसिरहेको बेला भट्टराईले बैठकको माग गरेका थिए ।

पटक पटक स्थायी कमिटी बैठक सूचना दिएर स्थगित हुँदा पार्टी सञ्चालन र एकीकरणसम्बन्धी कुनै काम हुन नसकेको नेता भट्टराईको भनाइ छ । थुप्रै एजेन्डाको चाङमाथि चाङ लागेको उल्लेख गर्दै उनले समस्यालाई पन्छाउनु क्षणिक समाधान मात्र भएको भन्दै यसले प्रकोपको सम्भावनालाई कायमै राख्ने चेतावनीसमेत दिएका छन् ।

नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डले आफूखुसी पार्टी सञ्चालन गरेको भन्दै असन्तुष्टि चुलिएको छ । नेता झलनाथ खनालले धेरै विषय समाधान नगरी पार्टीको तल्ला कमिटी एकता हुनै नसक्ने चेतावनी दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले त लिखित रूपमै असहमति दर्ज गराएका छन् ।