झापा । प्रहरीले सुनसरी र मोरङबाट ३ लाख ३५ हजार ४ सय रुपैँया नगदसहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ । सुनसरीको गढी गाउँपालिका ५ सत्तेरझोडा होलैया स्थित खेतमा तास खेली रहेको अवस्थामा प्रहरीले पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले तास खेलीरहेका ईनरुवा नगरपालिका २ बस्ने ३२ बर्षीय दिपेन्द्र साह, ४० बर्षीय सुरेन्द्र मेहेता, ३८ बर्षीय अकबर अन्सारी, ३८ बर्षीय गुरुदेव मेहता र २७ बर्षीय दिपेश रौनियारलाई नगद १ लाख ५६ हजार ४ सय रुपैँया, २ वटा मोटरसाईकल र तीन बुङ तास सहित पक्राउ गरेको हो । त्यसैगरी प्रहरीले मोरङ कानेपोखरी गाउँपालिका १ स्थित कुकुर भुक्का भन्ने ठाउँबाट कौडा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएक प्रहरीको टोलीले सोही स्थान बस्ने मित्र रेग्मीको घरमा जुवा (कौडा) खेल भइरहेको अवस्थामा मोरङ कानेपोखरी गाउँपालिका१ बस्ने ४० बर्षीय मित्र रेग्मी, ५१ बर्षीय उमाकान्त कार्की, ५२ बर्षीय तोर्ण कार्की, धनपालथान गाउँपालिका ४ बस्ने ४७ बर्षीय मोतीलाल राजबंशी, ३१ बर्षीय ओमबहादुर कटुवाल, रंगेली नगरपालिका २ बस्ने ४२ बर्षीय जनक कार्की, ४३ बर्षीय राजुबहादुर थापा, ४९ बर्षीय राजेन्द्र शर्मा, ४२ बर्षीय बिष्णु गुरुङ र ५२ बर्षीय डेफुराम खड्कालाई नगद १ लाख ८५ हजार रुपैयाँ नगद र २ सेट कौडा सहित पक्राउ गरिएको हो । यता पक्राउ परेका १५ जनालाई प्रहरी कार्यालय सुनसरी र मोरङमा राखेर थप अनुसंन्धान गरिरहेको प्रहरीले जनाएको छ ।