सिरहा ; आलोक यादव ,
१५ , कार्तिक ,२०७५
सिरहा : सिरहा-धनुषा सीमाना पर्ने सिरहा नगरपालिका ६ स्थित कमला नदीको पूर्व किनारमा बुधबार दिउँसो एक महिलाको वेवारिसे शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी माधवराज खरेलका अनुसार अन्दाजी २२/२५ वर्षीया ती महिलाले रातो कुर्ता, कालो सुरुवाल, कालो सुइटर र निलो अकासे रंगको सल लगाएकी छिन् । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको उनले जानकारी दिए ।
महिलाको अहिलेसम्म पहिचान खुल्न नसकेको उनको भनाइ छ । ‘मृत भेटिएको महिलाको घाँटीमा सल बेरिएको चिन्ह देखिएको छ,’ डीएसपी खरेलले भने, ‘घटनाको प्रकृति हेर्दा हत्या गरेर फाले जस्तो लाग्छ ।’
उनका अनुसार कमलाक नदीको पूर्वी बाँधबाट ५ मिटर तल झारेको देखिएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।










