सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ५५ वर्षीय रामविलास महतोको मृत्युमा पार्टीको कुनै पनि संलग्नता नरहेको दाबी गरेको छ ।

सर्लाहीमा बिहीबार बसेको नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री, सांसद र जिल्लास्तरीय नेताहरूको संयुक्त बैठकपछि जारी विज्ञप्तिअनुसार महतोको मृत्युमा नेकपाको कुनै पनि संलग्नता नरहेको छानविन गर्न पनि माग गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले रामविलाश महताको गोली लागेर मृत्यु भएको घटनाप्रति पार्टीले गम्भीर दुःख व्यक्त गरेको जनाउँदै घटनामा नेकपाको नाम जोडिएकोप्रति आपत्ति जनाए ।

‘रामविलाश महताको मृत्यु भएको घटनाले नेकपा गम्भीर बनेको छ । दोषीलाई कारबाही गरिनुपर्छ’, उनले भनेका छन्, ‘घटनालाई राजनीतिकरण गर्नु हुँदैन ।’ न्यौपानेले जिल्लामा सामाजिक सद्भाव बनाउनुपर्ने भन्दै घटनालाई राजनीतिक रंग दिन नहुने बताए ।

कात्तिक १२ गते सर्लाहीको क्षेत्र नं. ४ को रामनगर गाउँपालिका वडा नं. ४ वोहर्वा गाउँमा गोली चल्दा रामविलास महतोको मृत्यु भएको थियो ।

नेपाली कांग्रेसले सो घटनामा नेकपाका नेता र कार्यकर्ताहरूको संलग्नता रहेको भन्दै प्रदर्शन गर्नुका साथै कारबाहीको माग गरेर प्रहरीमा किटानी जोहेरी दिने तयारी गरेको छ । कांग्रेसले पूर्वसांसद एवम् नेकपाका नेता शिवपुजन यादवकै नेतृत्वमा घटना गराएको दाबी गर्दै आएको छ ।

नेकपाका केन्द्रीय सदस्य एवम् सांसद रामेश्वर रायले पनि कांग्रेस र नेकपाका कार्यकर्ताबीच कुनै पनि प्रकारको झडप नभएको बताएका छन् । उनले नागरिकताको सिफारिस नपाएको विषयमा भएको विवाद बढ्दै जाँदा व्यक्तिगत रुपमा सो घटना भएको उनले बताएका छन् ।

नेकपाका अर्का केन्द्रीय सदस्य लक्ष्मण पौडेलले घटनाप्रति आफूहरू चिन्तित रहेको बताए । ‘हामी पनि घटनाको सत्यतथ्य छानविन होस् भन्ने चाहेका छौँ’, उनले भने, ‘दोषीलाई छाड्नु हुँदैन । तर, निर्दोषलाई कारबाही पनि हुनुहुँदैन ।’

नेकपाले घटनाको सत्यतथ्य बुझ्न केन्द्रबाट नै जाँच बुझ गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न माग पनि गरेको छ । सर्लाही पार्टी संयोजनक जिल्ला कार्यदलका सदस्य एवम् सर्लाहीका नेकपा (एमाले)का पूर्वअध्यक्ष रेवती पन्तले घटनालाई उत्तेजित नबनाउन सबैलाई अपील गरेका छन् । पन्तद्वारा जारी सो विज्ञप्तिमा त्यस क्षेत्रको जनसमुदायमा धैर्यतापूर्वक संयम हुन आग्रह गर्दै विभिन्न खालका कुप्रचारमा नलाग्न र भ्रममा नपर्न भनिएको छ ।