प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी मुख्यालय सानेपामा आयोजना गरेको चियापानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका छन् ।
शुक्रबार भएको कांग्रेसको चियापानमा सहभागी हुन प्रचण्ड कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका हुन् । चियापानमा प्रचण्डले देशमा फेरि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । कांग्रेस सभापति शेर बहादुर देउवालगायतसँग कुराकानी गर्दै प्रचण्डले सबै एक जुट भएर मिलेर जाने वातावरण मिलाउन आग्रह गरे ।
राष्ट्रिय एकताले जुनसुकै समस्या समाधान हुने भन्दै उनले फेरि पनि देशलाई आर्थिक समृद्धितर्फ लैजान राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
जवाफमा कांग्रेस सभापति देउवाले राष्ट्रिय एकता आवश्यक रहेको तर पहल गर्ने जिम्मेवारी सत्तारुढ दलको रहेको बताए ।
यसअघि देउवाले पनि नेकपाको चियापानमा सहभागी भएका थिए । दैनिक नेपाल बाट










